News

कुन देशमा कति बजे भाइटीकाको साइत?

कुन देशमा कति बजे भाइटीकाको साइत?

काठमाडौंः नेपाल पञ्चाङ्ग निर्णायक समितिले यही कात्तिक १२ गते को भाइ टीकाको साइतको समय स्थानअनुसार फरक फरक तोकेको छ । विभिन्न स्थानमा  एउटै तिथीमा भाइटीका परे पनि समय भने फरक रहेको छ ।

समितिका सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य सन्तोष बशिष्ठले संयुक्त विज्ञप्ति जारी गरि भाइटिकाको समयतालिका सार्वजनिक गरेका हुन् । विज्ञप्ति अनुसार काठमाडौंमा टीकाको साइत कात्तिक १२ गते बिहान ११ः५५ बजे तोकिएको छ भने भारतको नयाँ दिल्लीमा सोही दिन बिहान ११ः४५ बजे तोकिएको छ ।

अमेरिकाको न्यूयोर्कमा  अक्टोबर २९ सोही दिन मध्यान्ह १२ः५१ बजे, अमेरिकाकै केन्टुकीमा सोही दिन १२ः१८ बजे, अमेरिकाकै टेक्सासमा १२ः५७ बजे र अमेरिकाको क्यालिफोर्नियामा १२ः५१ बजेको समय तोकिएको छ ।

त्यस्तै, बेलायतको लण्डनमा २९ तारेखको दिन ११ः४५ बजे, क्यानडाको टोरन्टोमा सोही दिन १३ः१५ बजे, जापानको टोकियोमा ११ः५१ बजे, अष्ट्रेलियाको सिड्नीमा १३ः०५ बजे, अष्ट्रेलियाकै मेलबर्नमा १२ः५० बजे, सोही देशको ब्रिसबेनमा १२ः०५ बजेको समय तोकिएको छ ।

यसैगरी, पोर्चुगलको लिस्बनमा १२ः३० बजे, फ्रान्सको पेरिसमा १२ः१० बजे, मलेसियाको क्वालालम्पुरमा १२ः३१ बजे, युएईको अवुधाबीमा १२ः०३ बजे समय तोकिएको छ ।  कतारको दोहामा सोही दिन बिहान ११ः१५ बजे, थाइल्याण्डको बैंककमा ११ः४५ बजे, दक्षिण कोरियाको सिउलमा १२ः१५ बजेको समय तोकिएको छ ।

यस्तै, इजरायलको तेलअभिभमा ११ः४० बजे, सिंगापुरमा १२ः३१ बजे, हङकङमा १२ः१ बजे र साउदी अरेबियामा ११ः६ बजेको समय तोकिएको सो समितिले जनाएको छ ।

साथै यस वर्षको यमपञ्चक कात्तिक ८ गते शुक्रबारदेखि शुरु भएको छ  । आजदेखि यमदीप दान शुरु गरिन्छ । कात्तिक ९ गते शनिबार काग तिहार परेको छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि यसै दिन परेको छ ।

कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । बिहान ११ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत्रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताए ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ११ गते सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । ११ गते बिहान ९ः४३ बजेसम्म औँशी तिथि पर्दछ । त्यसपछि कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह)  पूजा यसै दिन गर्नुपर्ने हुन्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ गते नै गरिन्छ । कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्र सम्मत हुने समितिको ठहर छ ।

भाइटीका साइत

विशेष