ऊर्जामन्त्री भेटेर जापानी राजदूतले के भने ?
काठमाडौँ । ऊर्जा,जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ । उर्जामन्त्रालयमा शुक्रबार भएको भेटवार्तामा हालै ऊर्जामन्त्री पुनले गरेको जापान भ्रमण र त्यहाँ भएका सम्झौता कार्यान्वयनबारे समीक्षा भएको थियो । मन्त्री पुनले आफ्नो जापान भ्रमणका क्रममा भएका सहमति अघि बढाउन मन्त्रालयले काम गरिरहेको जानकारी गराएका थिए ।
जापान भ्रमणका क्रममा नलसिंङ जलविद्युत आयोजना जापानले अघि बढाउने सहमति भएको थियो । साथै ऊर्जा समझदारीमा जापानसँग हस्ताक्षर गर्ने विषयमा पनि छलफल भएको थियो ।
राजदूत साइगो भएका सहमति कार्यान्वयनबारे जानकारी लिएका हुन् । भेटमा जापानी राजदूत साइगोले कृषि र सिंचाईको क्षेत्रमा पनि सहयोग गर्न आफुहरु इच्छुक रहेको जानकारी गराएका थिए । भेटमा जापानी विकास नियोग जाइकाकी नेपाल प्रमुख आशाकुमा युमिको पनि उपस्थित थिइन् ।