प्रधानमन्त्री भेटघाटमा : पाकिस्तानका राष्ट्रपति र बंगलादेशकी प्रधानमन्त्रीसँग भेट

प्रधानमन्त्री भेटघाटमा : पाकिस्तानका राष्ट्रपति र बंगलादेशकी प्रधानमन्त्रीसँग भेट

बाकु । असंलग्न आन्दोलनको राष्ट्र तथा सरकार प्रमुखहरुको अठारौँ शिखर सम्मेलनमा सहभागी हुन बाकु पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीले आज बाकु कङ्ग्रेस केन्द्रमा पाकिस्तानका राष्ट्रपति, बंगलादेशका प्रधानमन्त्रीसँग भेटवार्ता गरे ।

पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीबीच भएको भेटवार्तामा दुईपक्षीय चासोका विषयमा छलफल भएको छ । हिन्दू कुश हिमालयमा मौसम परिवर्तनले पारेको नकारात्मक प्रभाव, सार्कको अवरुद्ध प्रक्रिया र दुवै मुलुकले भोगेका विद्यमान तथा उदाउँदा चुनौतीका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।  बैठकका समयमा नेताहरुले सार्कका सदस्य मुलुकबीच मतभेद कम गरी यसलाई पुनःसक्रिय बनाउनुपर्ने तथा क्षेत्रीय शान्तिलाई प्रवद्र्धन गर्नुपर्ने कुरामा पनि छलफल भएको थियो ।

प्रधानमन्त्रीले आजै बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग पनि भेटवार्ता गरे । आज बाकु कङ्ग्रेस केन्द्र परिसरभित्रै भएको भेटवार्तामा ऊर्जा सहयोग, पारवहन सहयोगको सही उपयोग, व्यापारिक क्रियाकलापलाई गति दिनुपर्ने पक्षका साथै दुईपक्षीय सम्बन्ध र आपसी अभिरुचिका विषयमा छलफल भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।  

दुई नेताबीच हाल अवरुद्ध भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को प्रक्रिया र यसलाई पुनःआफ्नो मार्गमा ल्याउन नेपाल तथा बङ्गलादेशले संयुक्तरुपमा गर्नसक्ने कार्यका विषयमा पनि छलफल भएको थियो ।

भेटमा परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा राजन भट्टराई लगायत सहभागी थिए । 

संम्बधित खबर

विशेष