News

"म ओरिजिनल माओवादी होइन": प्रचण्ड

"म ओरिजिनल माओवादी होइन": प्रचण्ड

मोरङ।   नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफू ओरिजिनल माओवादी नभएको बताएका छन् । नेकपा मोरङले चाडपर्वका अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा तत्कालीन एमाले र एकता केन्द्रबीच एकताको प्रसंग निकाल्दै भने, ‘म पनि ओरिजिनल मसाल र ओरिजिनल माओवादी होइन, चौथो अधिवेशनको मदन भण्डारी हो भन्न पनि चाहँदिनँ ।’

दाहालले एकताको कुरा नटुंगिँदै भण्डारीको हत्या भएको बताए । ‘०४६ सालमा तत्कालीन एमाले र एकता केन्द्रलाई मिलाउन मदन भण्डारीसँग छलफल भएको थियो,’ उनले भने, ‘पछि हामीले एकीकरणकै एजेन्डा बनाएर छलफल मिति, कार्यक्रम तय गरी खानेकुराको लिस्टसमेत बनाएका थियौं तर दुर्भाग्य उहाँको हत्या भयो र एकता हुन सकेन । एकता भएको भए देशलाई १००/५० वर्षअगाडि ल्याउन सकिन्थ्यो ।’

अहिले पार्टी एकताको काम सोचेजस्तो अघि नबढेको भन्दै उनले असन्तुष्टि जनाए । तीन महिनामा एकता टुंग्याउने घोषणा गरिएको तर १७ महिना बितिसक्दा पनि नटुंगिएकोमा उनले दुःख व्यक्त गरे ।

यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।  

पुष्पकमल दाहाल

विशेष