News

स्थानीय तहका कर्मचारी प्रदेश लोकसेवा आयोगले पूर्ति गर्ने

स्थानीय तहका कर्मचारी प्रदेश लोकसेवा आयोगले पूर्ति गर्ने

काठमाडौंः स्थानीय तहका लागि आवश्यक करिब १३ हजार कर्मचारी अब प्रदेश लोक सेवा आयोगले नै पूर्ति गर्ने भएको छ । प्रदेश लोकसेवा आयोग बन्ने क्रम जारी भएकाले स्थानीय तहका लागि आवश्यक करिब १३ हजार कर्मचारी सम्बन्धित प्रदेशले नै पूर्ति गर्ने भएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि आवश्यक कर्मचारी अब सङ्घीय लोक सेवा आयोगले पूर्ति नगर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता भूपाल बरालले भने, ‘गत जेठ १५ गते स्थानीय तहका लागि सङ्घीय सरकारले गरेको नौ हजार ६६१ विज्ञापित पद अन्तिम हो, अब स्थानीय तहका लागि आवश्यक कर्मचारी सम्बन्धित प्रदेश लोक सेवा आयोगले नै पूर्ति गर्छन् ।’ 

जेठमा भएको विभिन्न पदको लोक सेवा आयोगबाट अहिले नतिजा आउने क्रम जारी छ । आगामी मङ्सिरभित्र विज्ञापन गरिएका नौ हजार ६६२ पद नै पूर्ति हुने बरालले बताए । संविधान र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका लागि आवश्यक कर्मचारी प्रदेश लोक सेवा आयोगले पूर्ति गर्ने उल्लेख गरिएको छ ।

अहिले पनि मन्त्रालयमा ५५ वटा स्थानीय तहले करिब तीन सयवटा पदमा विज्ञापन गरी कर्मचारी पूर्ति गर्न निवेदन पठाएका छन् । प्रवक्ता बरालले भने, ‘उक्त स्थानीय तहले मन्त्रालयमा पठाएका विज्ञापनमा पनि सम्बन्धित प्रदेश लोक सेवा आयोगले नै पूर्ति गर्नेछन् ।’ 

कर्मचारी समायोजन ऐनपछि स्थानीय तहमा ठूलो सङ्ख्यामा कर्मचारी अपुग भएकाले यस वर्षभित्र सबै कर्मचारी पूर्ति गरिने मन्त्रालयले जनाएको छ । सरकारले स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)  गर्दा स्थानीय तहमा २३ हजार कर्मचारी अपुग हुने जनाएको थियो । सरकारले कर्मचारी समायोजन क्रममा भने तीनै तहमा गरी ९८ हजार ५६८ जना कर्मचारी समायोजन गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो । 

स्थानीय तह कर्मचारी प्रदेश लोक सेवा आयोग

विशेष