News

नारायणगढ–बुटवल सडक विस्तारको काम सुरु

नारायणगढ–बुटवल सडक विस्तारको काम सुरु

कावासोतीः पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम शुरु गरिएको छ । निर्माणको जिम्मापाएको चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्ड नवलपरासीपूर्वको लोकाहा र गैँडाकोटको थुम्सिबाट सडक विस्तारको काम शुरु गरेको हो ।

नारायणगढ–बुटवल सडक विस्तारको काम शुरु हुन नसकेको भनेर गुनासो बढ्न थालेपछि निर्माणको जिम्मा पाएको कम्पनीले काम शुरु गरेको हो । गत चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सडक विस्तारको शिलान्यास गरेका थिए । शिलान्यासको सात महीनापछि काम शुरु भएको छ । सडक विस्तारका क्रममा सडक क्षेत्रभित्र पर्ने रुख काट्ने अनुमति प्राप्त हुन नसक्दा कम्पनीले रुख नभएको स्थानबाट काम शुरु गरेको छ ।

नारायणगढ–बुटवल सडक विस्तारको काम शुरु

आयोजनाको पूर्वी खण्डका योजना प्रमुख सुजन अधिकारीका अनुसार रुख काट्ने अनुमति अझै पूर्णरुपमा पाइएको छैन । रुख काट्ने अनुमति नआएको र काम शुरु गर्नसमेत ढिलो भएपछि कम्पनीले रुख नभएको स्थानबाट काम शुरु गरेको हो । पहिलो पटक गरेको वातावरणीय अध्ययनबाट रुख कटानको यकिन तथ्याङ्क ननिस्किएपछि दोस्रो पटक फेरि वातावरणीय अध्ययन गर्नुपरेकाले रुख कटानको अनुमति आउनसमेत ढिलाइ भएको उनले बताए ।

दोस्रो पटकको वातावरणीय अध्ययनबाट कम्तीमा ५० हजार रुख काट्न सकिने स्वीकृति भएको छ । रुख काट्न अनुमति भने अझै नआएको हुदाँ तिहारलगत्तै रुख कटानको अनुमति आउने र काम पनि धमाधम शुरु हुने योजना प्रमुख अधिकारीले बताए ।  

पूर्व पश्चिम राजमार्ग नारायणगढ–बुटवल सडकखण्ड

विशेष