जुवाखालबाट बरामद २ करोड ७० लाख रकम कहाँ जान्छ?
काठमाडाैँ । प्रहरीले काठमाडौंको महाराजगन्जस्थित साम्बाला होटेल पछाडिको जुवाखालबाट तीन लाखको चेकसहित २ करोड ७० लाख रूपियाँ बरामद गरेको छ। सोही क्रममा व्यापारी श्रवण गोयल र गुन्डा नाइके बलराम सापकोटा भन्ने बलेसहित २५ जना पक्राउ परेका हुन्।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले शनिवार काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेको बताए।उनले भने,’दुई करोड ६७ लाख नगद र ३ लाखको चेकसमेत जुवाखालबाट बरामद भएको छ।’
एउटै जुवा खालबाट यति धेरै रकम बरामद भएको नेपालमा सम्भवत यो पहिलो घटना भएको प्रहरीकै दाबी छ। रकम गन्न मात्र प्रहरी टोलीलाई तीन घण्टा भन्दा बढी समय लागेको थियो, भने अन्तिममा बैंकले पैसा गन्न प्रयोग गर्ने मेसिन लगेर रकम एकिन गरिएको थियो।
धेरैको मनमा एउटा प्रश्न उठेको छ, समातिएको रकम कहाँ जान्छ? मुलुकी अपराध संहिताअनुसार जुवा खालबाट बरामद गरिएको सम्पूर्ण रकम जफत भइ राज्य काेषकाे ढुकुटीमा जान्छ।
अपराध संहिताको दफा १२५ ९३० अनुसार खालबाट समातिएको चल अचल सम्पत्ति जफत हुने व्यवस्था गरिएको छ। उक्त दफामा लेखिएको छ, ‘जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चल अचल सम्पत्ति जफत हुनेछ । तर जुवा खेलेको घर, कोठा, ठाउँ वा सवारी साधन जफत हुने छैन।’
यस प्रावधानअनुसार प्रहरीले अदालतको अनुमति लिएर उक्त रकम राष्ट्रिय ढुकुटीमा दाखिला गर्नुपर्ने हुन्छ। महाराजगन्ज वृत प्रमुख डीएसपी उमेश लम्सालका अनुसार घटनास्थलको अवस्था हेर्दा एकैपटक लाखौं रुपैयाँको कारोबार भएको देखिन्छ।