News

पहिलोपटक काठमाडौं–बेइजिङ सिधा हवाई उडान

पहिलोपटक काठमाडौं–बेइजिङ सिधा हवाई उडान

काठमाडौंः पहिलोपटक काठमाडौंदेखि उत्तरी छिमेकी मुलुक चीनको राजधानी बेइजिङ सिधा हवाई उडान सुरु भएको छ । नेपाली र चिनियाँहरुको संयुक्त लगानीमा ५ वर्षअघि स्थापना भएको हिमालय एयरलायन्सले आइतबार बिहान बेइजिङले हालै सञ्चालमा ल्याएको डाक्सीङ विमानस्थलका लागि पहिलो व्यावसायिक उडान थालनी गर्‍यो ।

‘६५ जना यात्रु बाकेर आइतबार बिहान पहिलो उडान एच ९६६५ बेइजिङ उड्यो,’ हिमालयको प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘नेपालबाट चीनको बेइजिङका लागि हामीले थालेको उडान पहिलोपटक हो ।’ उनका अनुसार, आइतबार बिहान गएको जहाज राति पौने १० बजे काठमाडौं फर्किने तालिका छ । यस एयरलाइन्सले सातामा तीन दिन आइतबार, मंगलबार र शुक्रबार उडान गर्ने तालिका छ । यो रुटमा एकतर्फी न्यूनतम भाडा दर २४ हजार रुपैयाँ छ ।

‘हिमालयअघि नेपाल वायुसेवा निगमले चीनको सांघाई र ल्हासामा उडान गरेको थियो तर नेपाली ध्वजाबहाकबाट सिधा दुई मुलुकका राजधानी जोड्ने उडान भएको थिएन’, नेपाल वायुसेवा निगममा तीन दशक बिताएका राजुबहादुर केसीले भने । उनका अनुसार, निगमको जहाजले ल्हासामा ०४६ अघि केही महिना र सांघाईमा १२ वर्ष उडान गरेको थियो । काठमाडौंबाट जापानको ओशाका उड्ने निगमको बोइङले सांघाई ‘टचडाउन’ गर्थ्यो । निगमले ०५१ कात्तिकदेखि ०६३ चैतसम्म ओशाका उडान गर्दा सांघाईमा अवतरण गरेर इन्धन भर्थ्यो ।

नेपालले चीनका ७ वटा सहरमा सिधा उडान गर्ने हवाई सम्झौता गरेको २ दशक बढी भए पनि चीनको राजधानी बेइजिङमा सिधा व्यावसायिक उडान भएको थिएन । चार दशक बढी सयम उड्डयन क्षेत्रमा बिताएका केसीका अनुसार, हिमालयअघि नेपालबाट कुनै पनि स्वदेशी वायुसेवाको सिधा उडान थिएन । ‘हिमालय नै पहिलो व्यावसायिक र पहिलो चार्टर उडान गर्ने नेपालमा दर्ता भएको एयरलायन्स हो,’ केसीले भने । उनका अनुसार, यसै एयरलायन्सले ४ वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई चार्टर उडानमा बेइजिङ पुर्‍याएको थियो । प्रधानमन्त्रीपछि हालै नेपाल वायुसेवा निगमको न्यारोबडी विमान चार्टर गरेर राष्ट्रपति विद्या भण्डारी पनि चीन भम्रणमा गएकी थिइन् ।

काठमाडौं बेइजिङ रुटमा एकतर्फी उडान समय साढे ५ घन्टा हाराहारी लाग्छ । हिमालयले आफ्नो न्यारोबडी विमान एयरबस ३२० पठाएको छ । यो १ सय ५८ सिट क्षमताको जहाज हो । ‘फर्किँदा ७० हाराहारी यात्रु छन्,’ हिमायलकी मार्केटिङ हेड उज्वला दलीले भनिन् । यो रुटमा ७० प्रतिशत यात्रु पर्यटक हुने हिमालयले जनाएको छ । अहिले हिमालयसँग दुईटा न्यारोबडी विमान छन् । यस्को एउटा अर्को जहाज भियतनामको ब्याम्बो एयरलाई भाडामा दिइएको छ । उक्त विमान एक महिनाभित्र फिर्ता ल्याइने भएको छ । यो समाचार कान्तिपुर दैनिकको अनलाइन संस्करणबाट लिइएको हो ।

हवाई उडान हिमालय एयरलायन्स

विशेष