News

सुनसान छन् सुन पसल

सुनसान छन् सुन पसल

विराटनगरः सुनको मूल्यमा उल्लेखनिय वृद्धि भएसँगै सुनको कारोवार घटेपछि बिराटनगरका सुनपसलहरु चाडवाडमा पनि सुनसान छन् ।

मूल्य वृद्धिका कारण एकतोला सुन खरिद गर्न ठुलो लगानी गर्नुपर्ने भएपछि चाडवाडमा पनि यसपटक सुनको बिक्री नहुदा पसल सुनसान भएका हुन् । सुनको मूल्य बढेपछि यसवर्ष तीज, दशैँ तथा तिहारसमेत सुन बिक्री घटेको सुन व्यवसायी बताउँछन् ।

तिहारको धनतेरस अर्थात काग तिहारको दिनलाई सुनचादी खरिदका लागि शुभदिन मानिन्छ । तिज र दशैँमा बिक्री नभए पनि धनतेरसको दिन सुनचाँदी बिक्री हुने व्यवसायीले बिश्वास लिएका थिए ।

गतवर्ष धनतेरसका दिन पाँचलाखसम्म सुनचादी बिक्री गर्ने व्यवसायीहरुले यस पटक भने गतवर्षको तुलनामा ५० प्रतिशतमात्र बिक्री भएको बताउँछन् ।

मनिष ज्वोर्लसका अशोक खडकाले तिहारमा गतवर्ष चारलाखसम्म सुुनचादी बिक्री गरेकोमा योवर्ष त्यसको आधामात्र बिक्री भएको बताए । धनतेरसका दिन पसलमा ग्राहक भिड भएपनि सगुनका लागि सुनका सानातिना सामान बिक्री भएको उनको भनाई छ ।

तिहारमा पहिले बिक्री गर्न भ्याइ नभ्याई हुन्थ्यो फुर्सदसमेत हुदैन थियो तर यो वर्ष त्यो अवस्था नरहेको उनले बताए ।

बाबा शिव ज्वेर्लसका दिनेश साहले गतवर्षको तुुलनामा योवर्षको दिपावलीमा ३० प्रतिशत बिक्री भएको बताए । पहिलेको तुलनामा योवर्ष फाटफुट ग्राहक आएकाले बिक्री कम भएको उनको भनाई छ ।

सालिमार ज्वेर्लसका सुुनिल अग्रवालले तिहारमा मात्र होइन दशैँ र तिजमासमेत कारोवार ठप्प भएको बताए । महँगो भएका कारण सुन बिक्री नभएपनि चाँदीको बिक्री भने सन्तोषजनक नै रहेको उनको भनाई छ ।

पसलमा ग्राहक भिड देखिन्छ एकजना लिने र चारजनाले हेरेर सुझाव दिने भएकाले भिड देखिएपनि कारोवार सामान्य हुने गरेको उनले बताए । अग्रवालले भने, गतवर्षको तुुलानमा यस बर्ष ५० प्रतिशत कारोवार घटेको छ ।

धनलक्ष्मी ज्वोर्लसका सुभाष बर्माले धनतेसरका दिन गतवर्ष तिन लाखसम्म बिक्री भएकोमा यसबर्ष सोको तुलनामा ६० प्रतिशतमात्र बिक्री भएको बताए । सुुनचाँदीको पसल मात्र नभएर बिराटनगरका प्राय सबै व्यवसायमा मन्दी छाएको उनको भनाई थियो ।

यसैगरी ऋद्धिसिद्धी ज्वोर्लसका अशोक सुमानीले सुनचाँदीको बिक्रीमा गत असारदेिख बिक्रीमा मन्दी आएको बताए ।

सुनको मूल्य बढेपछि सुनमा लगानी गर्ने भन्दा पनि ग्राहकले सो पैसा अरुतिरै लगानी गर्ने थालेको पाइन्छ । सुन किन्ने पैसा अहिले जग्गा र अरु व्यापारमा लगानी गर्ने क्रमसमेत बढेको पाइन्छ ।

सुन विराटनगर तिहार

विशेष