एकैदिन लाखौं रुपैयाँसहित १०३ जुवाडे पक्राउ
काठमाडौंः देशका विभिन्न भागमा गैरकानुनी रूपमा जुवातास खेल्ने–खेलाउनेविरुद्ध नेपाल प्रहरीले थालेको अभियानका क्रममा जुवाको खालबाट सोमबार एकसय तीनजना पक्राउ परेका छन् ।
भक्तपुर, गुल्मी, बर्दिया, चितवन र दाङबाट प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
सोमबार बिहान भक्तपुरको गुण्डु र ताथलीबाट १४ जना पक्राउ परेका र उनीहरूबाट तीन लाख रुपैयाँ नगद बरामद भएको छ ।
यसैगरी गुल्मीको गुल्मीदरबार गाउँपालिकाबाट दुई लाख ८२ हजार रुपैयाँ १७ जना र बर्दियाको बाँसगढी र राजापुर क्षेत्रबाट ३१ जना समातिएका छन् ।
उनीहरूबाट रु दुई लाख ३६ हजार, तासका कैयौँ प्याकेट र कौडा बरामद गरिएको केन्द्रीय प्रहरीले जनाएको छ ।
यसैगरी चितवनको खैरहनी नगरपालिका र भरतपुर महानगरपालिका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएका ३२ जनाबाट रु पाँच लाख ७५ हजार रुपैयाँ नियन्त्रणमा लिइएको थियो ।
दाङको लमही नगरपालिका–५ सोमबार बिहान पक्राउ गरिएका आठजनाबाट १६ गड्डी तास र ३२ थान कौडासहित ६ लाख ७८ हजार रुपैयाँ बरामद भएको थियो ।
जुवातास पक्राउ जुवाडे