News

बोलेरो दुर्घटना हुँदा बालिकाको मृत्यु, ५ जना घाइते

बोलेरो दुर्घटना हुँदा बालिकाको मृत्यु, ५ जना घाइते

दोलखाः जिल्लाको दोलखा भीमेश्वर नगरपालिका–२ सोक्लामा आज बिहान बोलेरो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा थप पाँच जना घाइते भएका छन् ।

चरिकोट आउँदै गरेको बा १४ च ७६७ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना हुँदा भीमेश्वर नगरपालिका वडा नम्बर २ डाँडागाँउका भोजबहादुर ओलीकी ९ बर्षिया छोरी रोशनी ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

रोशनीको चरिकोट प्रस्तावित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी भीमेश्वर नगरपालिका वडा नम्बर २ डाँडागाँउका चालक २५ बर्षिया मनु तमाङ, ३५ बर्षिय भोजबहादुर ओली, भोजबहादुरको श्रीमती ३० बर्षिया दुर्गा ओली, भोजबहादुरको छोरा ५ बर्षिय रोहन ओली र वडा नम्बर २ तिखातलको ३७ बर्षिया रञ्जनी तमाङ घाईते भएको र उनीहरुको प्रस्तावित चरिकोट अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव निरीक्षक यज्ञनन्दन शाहले बताए । 

बोलेरोमा ९ जना रहेकोमा तीन जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । बोलेरो कच्ची सडकबाट २५ मिटर तल खसेको थियो । दुर्घटनाको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय दोलखाबाट गएको प्रहरी टोलीले घाईतेहरुको उद्दार गरी चरिकोट पठाएको थियो ।

दोलखा बोलेरो दुर्घटना

विशेष