व्यक्तिले गरेको गल्तीको पार्टी भागीदार हुन्न : बाँस्कोटा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यक्तिले गरेको गल्तीको भागीदार स्वयं व्यक्ति नै हुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपा नगरद्वारा चाडपर्वको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले पार्टीले व्यक्तिका गल्ती ढाकछोपमा नलाग्ने बताए ।
‘पार्टी भनेको ठूलो महत्व बोकेको संवेदनशील सङ्गठीत संस्था हो’ उनले बताए । आर्थिक रुपान्तरण, मुलुक परिवर्तन, सुख–शान्ति समाजवाद स्थापनाका लागि पार्टीले काम गर्ने उनको भनाइ थियो । विकासका कामलाई तीव्रता दिँदै तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने उनले दाबी गरे ।
मन्त्री बाँस्कोटाले वर्तमान प्रधानमन्त्री कुनै महाराजाको छोरा नभइ स्वतन्त्रताका लागि लडेको, लामो जेलजीवन बिताएको व्यक्ति भएको बताए ।
“उहाँ हली–किसानको छोरा हुनुहुन्छ, उहाँलाई जनताका दुःखपीर मर्का सबै अनुभव छ, तीनलाई कसरी सुखी र खुशी बनाउने भनेर उहाँ सोचिरहनुहुन्छ, हामी पनि उहाँको सपनालाई साकार पार्ने अभियानमै छौँ ।” उनले बताए । गरीबी चुनौती बनेको भन्दै उनले सरकारले क्रमैसँग गरीबी निवारण गर्न रोजगारी सिर्जना, सीप, विकास, प्राविधिक शिक्षा तथा जीवनलाई सजिलो बनाउन सेवा क्षेत्रलाई प्रभावकारी बनाउने कार्यक्रम ल्याउने जानकारी दिए । उनले सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को अवधारणासँगै देशको १८ प्रतिशत गरीबीलाई क्रमैसँग घटाउँदै लगिने पनि स्पष्ट पारे ।
मन्त्री बाँस्कोटाले वर्तमान समय विकास निर्माणको समय भएकाले समृद्ध नेपालतर्फ लम्किने जोकोही कतै अल्मलिनु नहुने बताए । उनले भने, “काग कराउँदै गर्छ, कसैले स्याल हुइँया मच्चाए पनि सरकारको अभियानमा रोकतोक हुन्न, तपाईहरु ढुक्क हुनुहोस् ।”
सरकारको यो शिलान्यासको वर्ष र अर्को उद्घाटनका वर्ष भएको चर्चा गर्दै २२ वर्ष सत्ता चलाउनेको ‘रिजल्ट’ नचाहिने वर्तमान सरकारको एक वर्षमै रिजल्ट चाहियो भन्नु गलत हुने उनको तर्क थियो ।