कपिलवस्तुमा प्रहरीको गोली लागेर ज्यान गुमाउने ब्यक्ति को हुन्?, भयो यस्तो खुलासा!
काठमाडौं – दुई समुदाय हिन्दू र मुस्लिम समूदायबीचको झडपले तनावग्रस्त बनेको कपिलवस्तुको कृष्णपुरमा गोली लागेर ज्यान गुमाउने व्यक्तिको बारेमा स्थानीय प्रशासनले सोधखोज गरेको छ। सोधखोजको क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाउने ब्यक्ति भारतीय नागरिक भएको खुलासा भएको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत मनोज कुमार सैनीले कपिलवस्तुको कृष्णपुरमा ज्यान गुमाउने व्यक्ति भारतीय नागरिक सुरजकुमार पाण्डे रहेको पुष्टि गरे । पाण्डे भारतीय राज्य उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाको बरौनीका स्थानीय रहेको खुल्न आएको प्रशासकीय अधिकृत सैनीले बताए।
स्थानीयहरुले प्रहरीको गोली लागि एक युवकको ज्यान गएको बताएका थिए । तर, प्रहरीले भने आफ्नो तर्फबाट गोली नलचेलेको दाबी गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दीपशम्शेर राणाले प्रहरीका तर्फबाट गोली नचलेको बताए ।
उनले भने, ‘पाण्डेको मृत्यु गोली लागेरै भएको देखिन्छ । तर, हामीले गोली चलाएका छैनौं । घूसपैठको सम्भावना छ । अवस्था सामान्य भइसकेको छैन ।’
प्रहरीका अनुसार स्थानीय राजनीतिक दलका नेता, जनप्रतिनिधिसमेत नगरपालिकामा नभएकाले समन्वय गर्न असहज भइरहेको छ ।कृष्णनगरमा बुधबार लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्न जाँदा विसर्जन पक्षधर र अर्को समुदायका व्यक्तिबीच झडप भएको थियो ।
स्थानीय मुस्लिम समुदायका केही व्यक्तिहरुले मूर्ति विसर्जन गर्न आफूहरुको बाटो प्रयोग गर्न नदिने बताएपछि विवाद सिर्जना भएको थियो । बुधबार साँझ नै स्थिति नियन्त्रणमा लिन प्रहरीले २० राउण्ड बढी आश्रुग्यास प्रहार गरेको थियो ।
विवादका कारण लक्ष्मीपूजाको मूर्ति अझै विसर्जन हुन सकेको छैन । बिहिबार बिहानैबाट अवस्था बिग्रँदै गएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ ।प्रदर्शनकारीसँगको झडपमा ५ जना प्रहरी समेत घाइते भएका बताइएको छ ।