महराविरुद्ध मुद्दा दर्ता, साढे ७ वर्ष कैद माग
काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जबरजस्ती करणी उद्योगमा अधिकतम ५ वर्ष र उच्च अहोदामा बसी कसुर गरेको अभियोगमा थप साढे २ वर्ष गरी ७ वर्ष ६ महिना कैद सजायको मागदाबी गर्दै महराविरुद्ध अदालतमा मुद्दा दायर गरिएको हो।
काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले सरकारी वकिलबाट मुद्दा दर्ता भएको जानकारी दिए। उनका अनुसार समय अभावका कारण आज बहस हुन सकेन्। ‘भोलिबाट बहस र थुनछेक बहस सुरु होला’, उनले भने।
१३ असोजमा संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले महरामाथि यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन् । पछि पीडित महिलाको ‘उजुरी’का आधारमा प्रहरीले महरालाई सभामुखको सरकारी निवास बालुवाटारबाटै पक्राउ गरेको थियो । महरालाई १९ असोजमा पक्राउ गरिएको थियो । प्रहरीले महरालाई हिरासतमा राखेर पटक पटक म्याद थपी अनुसन्धान गरेको थियो।