News

कांग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप, नौ जना घाइते

कांग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप, नौ जना घाइते

धनुषा- धनुषामा नेपाली कांग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैया भवाडीमा बुधबार कांग्रेस क्षेत्र नं ४ ले छठपर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रमपश्चात् समाजवादी पार्टी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।

झडपमा परी दुई पक्षका नौ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा कांग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।

कार्यक्रमपश्चात् टेन्टको सामान ओसारपसार गर्ने क्रममा सामान्य विवाद उत्पन्न भई झडपमा परिणत हुँदा नौ जना घाइते भएको इलाका प्रहरी कर्यालय महेन्द्रनगरले जनाएको छ । कार्यक्रमको लागि लगाइएको टेन्टको सामान पुर्‍याउने क्रममा भएको झडपमा रामहृदय यादव, सुकदेव यादव, रामबहादुर यादव, अमरेशकुमार यादव, श्याम यादव, उमेश यादव, सन्तोष यादवलगायतका व्यक्ति घाइते भएका छन् ।

झडपमा परी घाइते भएकाको रमदैयास्थित रहेको जानकी मेडिकलमा उपचार भइरहेको छ भने सामान्य घाइते स्थानीय क्लिनिकमा उपचारपश्चात् घर फर्किसकेका छन् । 

विशेष