सुत्केरीलाई लोकल कुखुरा र घ्यु वितरण
डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–६ ले आफ्नो वडामा भएका नौ सुत्केरी महिलालाई लोकल जातका कुखुरा र घ्यू वितरण गरेको छ । महिला तथा शिशुको स्वास्थ्य अवस्था सुधारका लागि पोषणयुक्त आहार गर्नुपर्छ भन्ने सन्देश दिन आर्थिक वर्ष २०७६/७७ बाट सुत्केरी महिलाका लागि उक्त सुविधा दिन शुरु गरेको वडा नं ६ का वडाध्यक्ष सन्तोष बोहराले जानकारी दिए । उनले भने– “सुत्केरी महिला र बच्चाको स्वास्थ्य राम्रो होस भनेर हामीले कुखुरा र घ्यू दिन शुरु गरेका छौँ, हाम्रो अभियान राम्रै हुने आस गरेका छौँ ।”
वडाले आफ्नो वडाभरिमा स्थायी बसोबास भएका प्रत्येक सुत्केरी महिलालाई एउटा लोकल जातको कुखुरा र एक किलोग्राम घ्यू वितरण गर्ने कार्यको शुरुवात गरेको छ । वडा कार्यालयले सुत्केरी आमालाई कुखुरा र घ्यू वितरण गर्न थालेपछि सो वडाका स्थानीयवासी निकै खुशी भएको सिलगढीका स्थानीयवासी डिलबहादुर सिंहले बताए । चालू आर्थिक वर्षको साउनयता नौ सुत्केरी महिलालाई लोकल जातका कुखुरा र घ्यू प्रदान गरिएको छ ।