News

कसुर प्रमाणित भए आलमलाई जन्मकैद

कसुर प्रमाणित भए आलमलाई जन्मकैद

काठमाडौंः सांसद मोहम्मद अफ्ताब आलमविरुद्ध लागेको सामूहिक नरसंहारको कसुर प्रमाणित भए जन्मकैदसम्मको सजाय हुने भएको छ । ज्यानसम्बन्धी मुद्दा प्रमाणित भए जन्मकैद, ज्यान मार्ने उद्योगको कसुर प्रमाणित भए १० वर्ष कैद हुनेछ । उनीविरुद्ध रौतहट प्रहरीले यी दुई र विस्फोटक पदार्थसम्बन्धी कसुर गरी तीन मुद्दा दायर गरेको छ । 

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १७७ को उपदफा २ अनुसार कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गरे वा गराए कसुरदारविरुद्ध जन्मकैद हुने व्यवस्था छ । दफा १७७ मा लेखिएको छ, ‘कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउन हुँदैन । कसुर गर्ने वा गराउने व्यक्तिलाई जन्मकैदको सजाय हुनेछ ।’ 

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १८३ अनुसार कसैले कसैको ज्यान मार्ने नियतले त्यसको उद्योग गरे कसुर गर्ने वा गराउने व्यक्तिलाई १० वर्ष कैद र एक लाख जरिवाना हुनेछ । आलमविरुद्ध रौतहट सरुअठा–२ का श्रीनारायण सिंह र सरुअठा–४ की रुक्साना खातुनले ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएका छन् भने सर्लाहीका सफी मोहम्मदले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन् । 

श्रीनारायण रौतहट विस्फोटमा घाइते भएर जिउँदै जलाइएका त्रिलोकप्रताप सिंह (पिन्टु) का बुबा हुन् भने रुक्साना सोही घटनामा मारिएका ओसी अख्तरकी आमा हुन् । सफी विस्फोटमा घाइते भएर बाँचेका जीवित प्रमाण हुन्, जो हाल प्रहरी नियन्त्रणमा छन् । यही घटनालाई लिएर रुक्सानाको पनि हत्या भइसकेको छ । त्यस्तै, आलमविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटले विस्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ । 

पहिलो संविधानसभा निर्वाचनमा रौतहट–२ बाट कांग्रेस उम्मेदवार बनेका आलमले परिस्थिति आतंकित पारेर चुनाव जित्न भारतबाट प्राविधिक बोलाएर बम बनाउन लगाएका थिए । चुनावको अघिल्लो दिन २७ चैतको साँझ राजपुर फरहदवास्थित शेख इद्रिसको घरमा बम बनाउँदै गर्दा विस्फोट भएर दुई नेपाली युवा ओसी र पिन्टुसहित केही भारतीय घाइते भएका थिए भने केहीको मृत्यु भएको थियो । 

घाइते र मृतक सबैलाई इँटाभट्टामा हालेर जलाएको पीडितहरूको आरोप छ । ओसी र पिन्टुलाई आलमले चुनाव प्रचारप्रसारका लागि भन्दै उनीहरूकै घरबाट लगेका थिए । घटनापछि प्रहरीले अनुसन्धान नै नगर्दा विस्फोटमा मारिएकाको यकिन संख्या अहिलेसम्म खुल्न सकेको छैन । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

जन्मकैद मोहम्मद अफ्ताब आलम कसुर

विशेष