प्रधानमन्त्रीको स्वास्थ्य अपडेट : फेरि डायलाइसिसको तयारी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक डायलाइसिसको तयारी गरिएको छ । काठमाडौँको ग्राण्डी अस्पतालमा बुधबार भर्ना गरिएका प्रधानमन्त्री ओलीको साँझ डाइलाइसिस गरिएको थियो । विहीबार पनि डायलाइसिस गर्ने तयारी गरिएको हो । हिजो अस्पताल पुगेसँगै ओलीलाई आइसीयूमा राखिएको थियो ।
यद्यपि प्रधानमन्त्रीका निजी चिकित्सक र अस्पतालले भने विज्ञप्ति निकालेर नियमित चेकअप भएको र विहीबारसम्ममा डिस्चार्ज गरिने जिकिर गरेको थियो ।
पहिलोपटक गरिएको डायलाइसिस गरिएपनि त्यसबाट सुधार नभएपछि आज पुन डायलाइसिस गर्न लागिएको अस्पताल स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला पुन प्रत्यारोपण गर्ने तयारी पनि गरिएको छ । मिर्गौलामा थप समस्या देखिएपछि डाइलाइसिस गरिएको छ र यदी त्यसले काम गरेन भने मिर्गौला प्रत्यारोपणको तयारी गरिएको छ ।
प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचारका लागि गएका थिए । त्यहाँ ‘प्लाज्मा फेरासिस’ गरिएको थियो । शरीरबाट ‘एन्टिबडिज’ हटाउनका लागि प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गरिएको थियो । प्लाज्मा फेरेसिसबाट मिर्गौलालाई फाइदा नपुगे डायलाइसिसमा जानुपर्ने र त्यसबाट पनि नभएर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।