प्रहरीका सई घुसहित पक्राउ
सिमरा– प्रहरी चौकी गञ्जभवानीपुरका प्रमुख सई जटाशंकरप्रसाद कलवार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाले ६० हजार रुपैयाँ घुससहित सई कलवारलाई पक्राउ गरेकाे हाे।
तस्करी खोलिदिने भन्दै कपडा व्यापारीबाट घुस लिँदै गरेको अवस्थामा कलैया उपमहानगरपालिका(१ मैदामिल नजिकैबाट उनलाई घुस सहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।
घुस रकम लिन सई कलवार सादा पोशाकमा मैदामिल निर आइपुगेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाले जनाएको छ ।
नाम नखुलेको एक कपडा व्यपारीले घुस रकम दिँदै गरेको अवस्थामा सादा पोशाकमा खटिएको अख्तियारको टोलीले कलवारलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको अख्तियारले जनाएको छ ।
प्रहरी चौकी गञ्जभवानीपुरका इन्चार्ज जटाशंकर प्रसाद कलवारलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको आफूले पनि जानकारी पाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक विकासराज खनालले बताए । गञ्जभवानीपुर चौकीमा अर्को इन्चार्ज पठाउने उनले जानकारी दिए ।