आज दशैंको पाँचौ दिन , शक्तिस्वरूपा भगवती स्कन्दमाताको पुजा गरिदै
काठमाडौँ , हिन्दु नेपालीहरुको महान पर्व बडा दशैको पाँचौ दिन आज शक्तिस्वरूपा भगवती स्कन्दमाताको पुजा आराधना गरि मनाईदै छ।
नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमाताको नामबाट चिन्ने गरिएको छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । स्कन्दमाता यस्ती दैवी शक्ति हुन् जसले व्यवहारिक ज्ञानलाई कर्ममा बदल्नको लागि प्रेरणा दिने गर्दछिन् ।
कमलको फूल आसन भएकी, सेतो वर्ण, चार हात भएकी, स्कन्दकुमारकी माता भएकीले उनलाई स्कन्दमाता भनिएको हो। यी देवीको काखमा सुपुत्र स्कन्दकुमार आनन्दले रहनुहुन्छ। कमल ओछ्याएर बस्ने आदत भएकोले यी देवीलाई पद्मासना देवी पनि भनिन्छ। स्कन्दमाताको सेवा गर्नाले स्वामी कार्तिकेयको पनि उपासना गरे सरह हुन्छ।
यस्तो विशेषता केवल यिनीलाई मात्र प्राप्त छ। सूर्यमण्डलकी अधिष्ठात्री देवी भएको कारण यी देवीको पूजाआजा गर्नाले भक्तजनहरुमा अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने जनविश्वास रहेको छ।
दशैंको पाँचौ दिन स्कन्दमाताको पुजा