दशैँकाे मुखमा भारतसँगको सीमा नाका बन्द
काठमाडौँ । नेपाल–भारत सीमानामा रहेको बैतडीको झुलाघाट नाका विहीबारदेखि तीन दिनका लागि बन्द हुने भएको छ । भारतको पिथौरागढ जिल्लामा असोज १८ गते जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनका लागि सुरक्षा संवेदनशीलताको कारण जनाउँदै सीमा नाका बन्द हुन लागेको हो ।
आज साँझ ५ बजेदेखि १८ गते साँझ सवा ५ बजेसम्म तीन दिन अन्तर्राष्ट्रिय सिमा बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।
यसका साथै असोज २८ गते भारतको पिथौरागढ जिल्ला धार्चुला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गरी दार्चुलाको सीमानाका पनि बन्द हुने भएको छ । उक्त नाका असोज २७ गते साँझ सवा ५ बजेदेखि असोज २९ गते साँझ सवा ५ बजेसम्म बन्द हुने जनाईएको छ ।
चाडपर्वको बेला सीमानाका बन्द हुने हुँदा भारतबाट घर फर्किने नेपालीलाई समस्यामा पर्ने भएका छन् । यद्यपि आकस्मिक रुपमा निर्वाचनको बिचमा पुल खोल्नुपरेमा आपसी समझदारीमा खोल्न सकिने बताइएको छ ।