चिनीया राष्ट्रपतिको भ्रमणबारे प्रधानमन्त्रीबाट सम्पादकहरुसँग ब्रिफिङ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनिया राष्ट्रपति सी जिनपिङको छिटै हुन लागेको नेपाल भ्रमणबारे विभिन्न सञ्चारमाध्यमका सम्पादक, प्रतिनिधिसँग ब्रिफिङ गर्नुभएको छ । विहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा छिमेकी राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिइने प्रधानमन्त्रीले जानकारी दिनुभयो ।
भेटघाटमा सरकार–सरकार र जनता–जनताबीचको सम्बन्ध बहुआयामिक बनाउन नै आफूले प्रयास गर्ने उहाँले जानकारी दिनुभयो । उच्चस्तरीय भ्रमणहरु कुनै सपिङ लिष्ट जस्तो हुन नहुने बरु त्यस्ता भ्रमणबाट मित्रताको बढी अपेक्षा गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपालका राष्ट्रिय हितका आफ्नै नीति रहेको र नेपाल कसैको पक्षधरता नलिई स्वतन्त्र रुपमा विश्वमञ्चमा आफ्नो भूमिका निर्वाह गर्ने प्रष्ट पार्नुभयो ।
‘उच्चस्तरीय भेटघाटमा लाभहानिको हिसाबकिताब हुन्न, मैले मित्रतालाई नै जोड दिने छु, आपसी मित्रता भएमा नै दुवै पक्षलाई लाभैलाभ हुन्छ।’ प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘दुई देशबीचको भेटघाटमा भौतिक अपेक्षा तपशिलका कुरा हुन्, भेटपछि प्रतिफल प्राप्त होला नै, तर सपिङ लिष्ट बनाएर कुरा हुँदैन, मित्रताको मूल्य नै सर्वाधिक हुन्छ ।’
नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच हालै काठमाण्डौमा भएका एक समझदारी पत्र र दई पार्टीका नेताहरुबीच भएको प्रशिक्षणबाट नेकपाले नेपाललाई सि विचारधारा उन्मुख गराएको आरोप सम्बन्धी एक प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले त्यस्ता कुरा विचारको दरिद्रता र विचार शुन्य भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले चीनसँग लगानी, व्यापार र प्रविधि हस्तान्तरणबारे छलफल हुने जानकारी दिँदै दुई देशबीच मित्रता अभिवृद्धि भएपछि यी विषयमा पनि स्वाभाविक वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । ‘नेपालले आन्तरिक र बाह्य रुपमा स्वतन्त्ररुपमा आफ्नो स्वाधीनताको अभ्यास गर्न थाल्यो, गरिरहेको छ । त्यसकारण नेपाल देखिन र सुनिन थालेको छ । हामी कतै झुक्दैनौँ । कतै ढल्कँदैनौँ । नेपाललाई भूपरिवेष्टितबाट भूडित, जलजडित, हवाइजडित र सञ्चारजडित बनाउन लागेका छौँ,’ प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।