चिनिया राष्ट्रपतीसंग सपिङ लिष्ट बनाएर कुरा हुँदैन, "मित्रताको मुल्य नै सर्वाधिक"; प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने बताएका छन्।
विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अपराह्न कुराकानी गर्दै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिंग छिट्टै नेपालमा हुने उच्चस्तरीय भेटघाटमा सरकार सरकार र जनता जनताबीचको सम्बन्ध बहुआयामिक बनाउन नै आफूले प्रयास गर्ने स्पष्ट गरे।
‘उच्चस्तरीय भेटघाटमा लाभहानीको हिसाबकिताब हुन्न, मैले मित्रतालाई नै जोड दिने छु, आपसी मित्रता भएमा नै दुवै पक्षलाई लाभैलाभ हुन्छ,’ उनले भने। ‘दुई देशबीचको भेटघाटमा भौतिक अपेक्षा तपसीलका कुरा हुन्, भेटपछि प्रतिफल प्राप्त होला नै, तर सपिङ लिष्ट बनाएर कुरा हुँदैन, मित्रताको मूल्य नै सर्वाधिक हुन्छ।’
प्रधानमन्त्रीले चीनसँग लगानी, व्यापार र प्रविधि हस्तान्तरणबारे छलफल हुने जानकारी दिँदै दुई देशबीच मित्रता अभिवृद्धि भएपछि यी विषयमा पनि स्वभाविक वृद्धि हुने विश्वास व्यक्त गरे।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।