किन छोडेनन् महराले सरकारी निवास?
काठमाडौं - निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी निवास अहिले सम्म पनि छोडेका छैनन्। सभामुख पदबाट दोस्रो पटकको दिएको राजीनामा स्वकृत भएपनि उनले सरकारी निवास अहिले सम्म पनि छोडेका छैनन्। महरा बालुवाटारस्थित सरकारी निवासमै रहेको बालुवाटार स्रोत जनाएको छ।
निवर्तमान सभामुख महराका प्रेस संयोजक डिल्ली मल्लले बालुवाटारस्थित सरकारी निवासमै उहाँ रहेको जानकारी दिए। यौन दुराचारको आरोप लागेपछि महराले राजीनामा दिएका थिए।।
उपसभामुख शिवमाया तुम्बाहाङ्म्फेले महराको पहिलाे राजीनामा अस्वीकृत गरेपछि उनले भाषा सच्चाएर दोश्रो राजीनामा दिएका थिए।सत्तारुढ दल नेकपाको सचिवालय बैठकले सांसद पदबाट समेत राजीनामा गर्न दिएको सुझावलाई महराले अटेर गरेका छन्।
सोमबार बसेको सचिवालय बैठकले सभामुख र सांसद पदबाट राजीनामा दिन सुझाव दिएको थियो। उनका प्रेस संयोजक मल्लले भने, ‘सचिवालय बैठकबाट सांसदबाट पनि राजीनामा दिने कुरा आएको सुनिएको हो। प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने बारेमा केही सोचिएको छैन।’ उनको सुरुको बयानको आधारमा समाचार बाहिरिएपछि महराले भने नैतिकताको आधारमा राजीनामा दिइसकेका छन् । उनको राजीनामा बुधबार स्वीकृत भएकाे थियाे ।