आज फूलपाती, घर घरमा भित्र्याईँदै
काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइन्छ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
हनुमानढोकामा गोरखाबाट भित्र्याइने
हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिड जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । यस वर्षको फूलपाती शनिबार अपराह्न ३ बजे भित्र्याइने कार्यक्रम रहेको जनाइएको छ ।