News समाज

घर फर्कनको लर्को

घर फर्कनको लर्को

काठमाडौँ । हिन्दुहरुको महान् चाड बडादशैंले दैलोमा टेकेसँगै राजधानीमा बसोबास गरिरहेकाहरु आ–आफ्नै थातथलो फर्कन थालेका छन् । आज शनिबारदेखि सबै कार्यालय बन्द रहने तथा बडादशैँको औपचारिक बिद सुरु भएसँगै अधिकांश व्यक्ति आ–आफ्नो थातथलोमा फर्कन व्यस्त बनेका हुन् । आज विहानैदेखि संघीय राजधानीका सबै नाका, चोकमा घर जाने यात्रुको लर्को लागेको छ ।

सडकमा एकैपटक ठूलो संख्यामा सवारी साधन र सर्वसाधारणको भीड बढेपछि ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त भएको छ । फूलपाती लागेकाले आजदेखि सर्वसाधारणहरु कष्ट सहेरै भए पनि आ–आफ्ना गाउँघर फर्किन उत्साहित देखिन्छन् । बडादशैं नजिकिएसँगै आ–आफ्नो पुख्र्यौली थातथलो फर्कनेको भीडले राजधानी अस्तव्यस्त भएको छ ।

काम, पढाइ, सुविधा, व्यापार वा जुनसुकै कारण भएपनि काठमाडौंमा बसोबास गरिरहेकाहरु वर्ष दिनमा एक चोटी आउने बडादशैँमा आ–आफ्नै गाउँघर फर्कन्छन् । फूलपातीदेखि नै कार्यालयहरु बिदा हुने भएकाले पनि घर फर्कनेको लर्को लागेको हो । कोटेश्वर लगायतका चोकहरुमा विहान ४ बजेदेखि नै ट्राफिक जाम भएको छ ।

सडकमा कलिला बालबालिका बोकेर सवारीका साधनको पर्खाइमा रहेकाहरु पनि यात्रा कष्टपूर्ण भए पनि दशैंमा घर नगई बस्न नसकिने बताउँछन् । विहान सबेरैदेखि घर फर्कनेहरुको चहलपहल बढेसँगै फुटपाथमा व्यापार व्यवसाय गर्नेहरुको पनि चोकचोकमा भीड लागेको छ ।

भीडभाडमा व्यापार धेरै हुने लोभले मान्छेको झुण्ड बढी भएका ठाउँहरुमा फलफूल, लत्ता कपडा र अन्य तयारी खानेकुरा बेच्नेहरुले पनि सडक थप व्यस्त बनाएका छन् । अर्कोतर्फ नवरात्र अवधिमा शक्तिपीठमा पूजा अर्चना गर्नेहरुको पनि लर्को लागेको छ । देशभरका शक्तिपीठमा दर्शनार्थीको घुईँचो लागेको हो । गाउँघरमा टाढा टाढाबाट आफन्तजन भेटने भलाकुसारी गर्ने तथा ठाउँ ठाउँमा पिङ हालेर दशैँमा थप रौनकता थपिन्छ । 

विशेष