निवर्तमान सभामुख महरा पक्राउ
काठमाडौँ । संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणीको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन । अदालतले पक्राउ पुर्जी जारी गरे लगत्तै महरा पक्राउ परेका हुन् । प्रहरीले महरालाई आइतबार साँझ बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हो ।
महराकै मागअनुसार प्रहरीले उनलाई निजी कारमा राखेर लगेको थियो । रातो रंगको गाडीमा गएका उनीसँगै सादा पोसाकका प्रहरीहरु खटिएका थिए । सुरुमा प्रहरीले उनलाई भ्यानमा लैजान चाहेपनि महराले निजी गाडीमा जान चाहेपछि प्रहरीले १६ च २९५८ नम्बरको गाडी ल्याएको थियो । तर उनी आफैैंले प्रयोग गर्ने बा १८ च ४०० नम्बरको निजी गाडीमा चढेर गएका थिए।
महरालाई महानगरीय प्रहरी वृत्त, सिंहरबारमा राखेर अनुसन्धान गरिने प्रहरी स्रोतले जनाएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो । महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप छ ।