News

दशैंमा स्वास्थ्य, सामाजिक शान्ति र मित्रताको ख्याल गरौं : प्रधानमन्त्री

दशैंमा स्वास्थ्य, सामाजिक शान्ति र मित्रताको ख्याल गरौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला नेपाल राजनीतिक प्राप्तिको आन्दोलन सकेर समृद्धिको यात्रामा अघि बढेको बताउनु भएको छ । बडादशैंको उपलक्ष्यमा देशबासीलाई सन्देश दिँदै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा बडादशैँले हामी सबैलाई प्रेरणा दिन सकोस् भन्ने कामना गर्नु भएको छ ।  

प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ– ‘समाजलाई सभ्य, मित्रतापूर्ण, शान्तिपूर्ण र आत्मीयतापूर्ण समाजका रूपमा पनि विकास गर्न सबैको ध्यान जानु आवश्यक छ ।’

दशैँ लामो समयदेखि हामीले मनाउँदै आएको एकता र पुनर्मिलनको चाड हो भन्दै उहाँले आफन्त र छिमेकीहरूका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाउन आग्रह गर्नुभएको छ । 
प्रधानमन्त्री ओलीले आफूभन्दा ठूलाबाट आशीर्वाद लिने र सानालाई आशिर्वाद एवं स्नेह दिने मानवीय चाड बडादशैँलाई सकेसम्म भव्यताका साथ मनाउन पनि जोड दिनुभएको छ ।

बडादशैँ भव्यतासाथ मनाइरहँदा हामीले कतिपय परम्पराका नाममा हुने नराम्रा प्रचलन तोड्दै जानु पनि आवश्यक रहेको उल्लेख गर्दै उहाँले दशैँमा स्वास्थ्य, मित्रता, सामाजिक शान्ति र छिमेकीलाई प्रतिकूल असर नपरोस् भनी ध्यान दिन जरुरी छ । 

हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा बडादशैँले जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यसरी नै योगदान दिँदै जान सकोस् भन्दै प्रधानमन्त्रीले  चाडहरू बढी खर्चालु नहोऊन, हामी आफ्नो गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन सकौँ भन्ने कामना गर्नुभएको छ । 

प्रधानमन्त्री बडादशैं

विशेष