बडादशैं : देश जोड्ने पर्व (फोटोफिचर)

बडादशैं : देश जोड्ने पर्व (फोटोफिचर)

सांस्कृतिक धरोहरका रुपमा रहेको नेपालमा कयौं यस्ता सांस्कृतिक गरिमामय परम्परा छन् , जसको आफ्नै महत्व र विशिष्टता छ । वास्तवमा यही सांकृतिक विशेषताले गर्दा नै नेपालको नाम विश्व सामु परिचित छ । हाम्रा यस्ता सांस्कृतिक संवाहकमा हामीले मनाउँदै आएका चाडपर्व पर्दछन् । यस्ता चाडपर्वमा हाम्रो अटुट आस्था र विश्वास रहेको छ । धार्मिक पर्वहरु ऐतिहासिक, धार्मिक, पारस्परिक र नैतिक शिक्षाको दृष्टिकोणबाट पनि महत्वपूर्ण छ । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म धुमधामले मनाउने यो दशैं पर्व सांस्कृतिक दृष्टिकोणले पनि त्यतिक्कै समन्वयकारी पर्वको रुपमा स्थापित छ ।

देवी महात्म्य तथा सप्तसती (चण्डी) को कथाअनुसार शुम्भ र निशुम्भ नामक राक्षसको अराजकताबाट त्राण पाउन देवताहरुले माता दुर्गाभवानीको आराधना गरे । सोही अनुसार देवीले अष्टमीको दिन राती दुर्गाकालीको रुपमा प्रकट भएर दशमीका दिन शुम्भ निशुम्भको बध गरिन । देवीको विजयोल्लासमा टीका लगाउने परम्परा रहेको हुनाले यस चाडलाई विजया दशमी नामाकरण गरिएको हो । शक्तिदेवी प्रतिको आस्था एवं विश्वासको प्राचीनता कोट्याउँदै जाँदा मानव सभ्यताको विकासको प्रारम्भ संगसंगै पुग्न सकिन्छ । पछि आएर यसप्रकारको विश्वासले अझै व्यापक स्थान लिन पुग्यो । र नारीलाई सम्पूर्ण शक्तिको अधिष्ठात्रीको रुपमा व्याख्या गर्न थालियो । 

रामायणमा रामले नौ दिनसम्म देवीको आराधना र पूजापश्चात नै रावणमाथि विजय प्राप्त गर्ने शक्ति प्राप्त गरेका थिए । दुर्गासप्तसतीको ‘जयन्ती मंगलाकाली भद्रकाली कपालिनी, दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमस्तुते ।’ भन्ने मंगलाचरणको श्लोकले देवीलाई सम्पूर्ण सृष्टि प्रपञ्च धारिणी मानिएको पनि यस सन्दर्भमा महत्वपूर्ण छ । शक्तिदेवीका आठ स्वरुपमा इन्द्रायणी, वैष्णवी, माहेश्वरी, कौमारी, चामुण्डा, ब्राम्ह्णी, बाराही र महालक्ष्मी पर्दछन् । जसलाई अष्टमात्रिका पनि भनिन्छ । यिनीहरुलाई दुर्गाकै अंगका रुपमा स्वीकार गरिए पनि महिषासुर मर्दिनी दुर्गा समेत गरी ‘नवदुर्गा’ नामले पूजा गर्ने परम्परा रहेको पाइन्छ ।

चण्डमुण्ड नामक राक्षसको बध गरेको हुनाले चामुण्डा तथा राक्षसलाई मार्दा यिनले आफ्नो शरीरबाट कालीलाई उत्पति गरेकीले काली पनि भन्ने गरिन्छ । यसप्रकार देवीको अनुपम शक्तिलाई प्राप्त गर्न तथा दानवीय शक्ति परास्त गर्न दशैंको विशेष महत्व छ । देवी भागवत तथा सप्तसती ग्रन्थहरुमा देवीको महत्वको प्रशंसा एवं दानवीय शक्तिको पराजयको कथा व्यापक उल्लेख गरिएको पाइन्छ ।

 

दशैंको ऐतिहासिक महत्व

दशैं संस्कृतको ‘दशमी’ शब्दबाट आएको हो । दशमी तिथिको सर्वाधिक महत्व रहेका हुनाले यस चाडलाई दशमी अथवा दशैं भनिएको हो । यो चाड लिच्छवीकाल पूर्वदेखि नै कुनै न कुनै माध्यमका रुपमा मनाउँदै आएको तथ्यका प्रमाण इसाको प्रारम्भिक शताब्दीताका बनेका मात्रिका मूर्तिहरु रहेका छन् । अझ रामायणकालमा श्रीरामले देवीको आर्शिर्वाद प्राप्त गरी रावणलाई जितेको घटनाले त्यसबेला देखि नै यो पर्वको अस्तित्व रहेको पुष्टि हुन्छ । 
पाटन च्यासलटोलको लिच्छवी अभिलेखमा ‘नारायण देवकुल दशमी गोष्ठी’ उल्लेख भएको छ । नारायण मन्दिरमा आयोजना गरिने पूजासंग सम्बन्धित यो गोष्ठीले दशैं पूजालाई संकेत गरेको छ । यसबाट लिच्छवी समाजमा दशैंको महत्व रहेको देखिन्छ । 

मल्ल राजाहरुको पालामा यो चाड घटस्थापना, फूलपाती तथा अष्टमीलाई खड्गसिद्धिको रुपमा मनाएको पाइन्छ । जयस्थिति मल्ल र उनका भारदारहरुले आश्विन शुक्ल अष्टमीका दिन ‘खड्ग स्वेएका’ (खडग स्थापना) गरेको गोपाल वंशावलीमा उल्लेख छ । त्यसबेला अष्टमीमा देवीको समीपमा खड्ग स्थापना गरी पर्सिपल्ट दशमीको दिन धार्मिक परम्पराअनुुसार खड्ग सञ्चालन हुने काम हुन्थ्यो ।

त्यसबेला यसलाई पायात, खड्ग जात्रा वा खड्ग चालन पनि भन्ने गरिन्थ्यो । एकातिर खड्ग स्थापनाको परम्परा त्यसबेला पाइन्छ भने अर्कोतिर भूपालेन्द्र मल्लका मन्त्री नवमी सिंहले ‘चण्डीभक्त विनोदिनी’ नामक ग्रन्थ रचना गरेको उल्लेख छ । सातसय श्लोकको यो पुस्तकलाई सप्तसती चण्डी भनिन्छ । यो पुस्तक दशैंमा सबैको घरघरमा पाठ गर्ने महत्वपूर्ण धार्मिक ग्रन्थ बन्यो । 

उपत्यकाभित्रको परम्परा

काठमाडौं उपत्यकाभित्र रहेका मल्लकालीन राजदरबारहरु पनि दशैं पर्वको बेलामा पूजा गर्ने महत्वपूर्ण केन्द्रको रुपमा रहेका छन् । त्यसबेलादेखि नै दशैंका बेला दरबारभित्र स्थापित देवीहरुको पूजा गर्ने परम्परा भएको हुनाले यो चलन आजपर्यन्त बाँचेकै छ । हनुमानढोका दरबारभित्र दशैं पर्व अझ विशेष धूमधामसंग मनाइन्छ । सर्वप्रथम घटस्थापनाका दिन मूलचोकको पूर्वपट्टि रहेको दशैंघरमा जमरा राख्ने गरिन्छ । त्यसपछि सप्तमीको दिन नुवाकोटको धूनवेसीबाट फूलपाती ल्याई त्यसदिन सो फूलपाती रानीपोखरीमा राख्ने र अर्कोदिन धुमधामले हनुमानढोका भित्र्याउने काम गरिन्छ ।

मल्लकालमा फूलपाती उत्सवलाई ‘पचीका स्थापना’ भन्ने गरिन्थ्यो । अष्टमीका दिन तलेजु भवानीलाई मूलचोकमा ल्याई स्थापना गरिन्छ । साथै अष्टमीको राती कालरात्रिमा तलेजुको गोप्य रुपमा पूजा पनि गरिन्छ । नवमीको दिन मूल्चोकमा प्रतिस्थापित तलेजु भवानीलाई पूजा गरी बली दिइन्छ । यसैदिन भक्तपुर दरबार रहेको कुमारीचोकमा एकान्त कुमारीको पूजा गर्ने परम्परा पनि कम महत्वपूर्ण छैन । दशमीका दिन हनुमानढोका मूलचोकमा पूजा सकेपछि टीका राष्ट्राध्यक्षकोमा पठाउनु पर्छ । दशमीका दिन खड्गको जात्रा निस्कन्छ । खड्गसिद्धि पूजा मातृका नृत्यमा विशेष महत्व रहेको हुन्छ । खडगजात्रामा सहभागी हुनेले हातमा खुँडा, तरवार, त्रिशुल, ढाल लिएका र जामा पहिरिएका हुन्छन् । 

खड्गजात्रामा दैत्यको प्रतीक कुभिण्डो काट्ने गरिन्छ । यसैदिन राजपरम्परा रहँदा राजाहरु खड्ग साट्थे । देवीको अनुपम आयुधको रुपमा रहेको खड्गलाई दुर्भिक्षहरुलाई परास्त गर्ने तथा समुन्नति र शान्तिको प्रतीक मान्ने परम्परा छ । यस्तो जात्रा नुवाकोट दरबारबाट पनि निकालिन्छ । 
घटस्थापनादेखि दशमीसम्म सम्पन्न गरिने विभिन्न विधानहरु ठाउँ र जातिअनुसार केही भिन्न रहलान तर समष्टिगत रुपमा टीका र जमरा लाउने परम्पराले दशैंको महत्व स्पष्ट पारेको छ ।

खासगरी पहिलो दिन जमरा राखी नवमीसम्म चण्डीपाठ गर्ने तथा देवीको स्तुति गर्ने गरिन्छ । सप्तमीमा फूलपाती भित्र्याउने तथा अष्टमीमा विभिन्न हातहतियारको पूजा गरी देवीका नाममा कुखुरा, हाँस, बोका, राँगाको बली दिने आम प्रचलन रहेको छ । दशमीको दिनलाई ‘टीका’ भनिन्छ । यसदिन होम गरी दुर्गास्थापनाको विसर्जन हुन्छ । टीकाका दिन अग्रजहरुले आर्शिर्वादसंगै यो श्लोक उच्चारण गर्दछन् । 

आयु द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे
ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने
दानं सूर्यसुते बलं हलधरे सत्यं च कुन्तीसुते
विज्ञाने विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।

जयन्ती मंगलाकाली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तु ते ।

धेरै ठाउँ यसैदिन आफन्तकोमा टीका थाप्न जाने चलन छ । खास गरेर प्राचीन कोतहरुमा जमरा राखी त्यहाँ स्थापित कोत देवीहरुलाई टीका र जमरा चढाई ग्रहण गर्ने परम्पराले प्राचीन राज्य रजौटाको प्रचलनलाई कुनै न कुनै रुपमा अनुसरण गरेको प्रतीत हुन्छ । सुदूरपश्चिममा रजवारको घरमा गई टीका थाप्ने परमपराले पनि सोही प्राचीन प्रचलनलाई कायम गरेको देखाउँछ । 

विभिन्न जातमा दशैं

नेपालभर बसोबास गर्ने विभिन्न जातिमा दशैंको महिमा र गरिमा त्यत्तिक्कै महत्वपूर्ण छ । उपत्यकाभित्र रहने नेवार जातिभित्र रहेका हिन्दुहरुले पूजापाठ गरी ब्राम्ह्ण क्षेत्रीले जस्तै टीका ग्रहण गर्दछन् । बौद्धहरुले टीका नलगाए पनि खड्ग जात्रा निकाली घरआँगनमा पूजा गर्दछन् । यस्तै मध्यपहाडी भेगका मगर र गुरुङले पनि भव्यतापूर्वक दशैं मनाउँछन् ।

परम्पराअनुसार दशैंको टीकापछि मगरहरुले सोरठीमा बजाउने मूल मादल बजाउन सुरु गरी नयाँ ऋतुको आगमन संकेत गर्दछन् । यस्तै पूर्व किराँतीमूलको समाजमा पनि दशैंको उत्तिक्कै रौनक देखा पर्दछ । तराईमा थारुहरुले पनि दशैंलाई उत्तिक्कै महत्व दिएको पाइन्छ । दशैंमा दाङ देउखुरीतिरका थारुहरुले दश्यानाच नाच्ने गर्दछन् । केटीहरुले नाच्ने सामूहिक नाचमा मादल र मुजूराको तालमा नाचगान हुन्छ । थारुहरु जौको साटो मकैको जमरा सिउरिन्छन् । ‘गुरुवा’को हातबाट टीका लगाएपछि टीका फुक्ने विश्वास थारुहरुमा रहेको छ । 

नेपाल बाहिर दशैं

नेपाल बाहिर जहाँ जहाँ नेपाली बसेका छन, त्यहाँ त्यहाँ दशैंको रंग देख्न पाइन्छ । यो चाडलाई नेपालीलाई एकतावद्ध गर्ने चाडका रुपमा परिचित छ । खास गरेर भारत, भूटान, बर्मा रहेका नेपालीहरुले यो चाडलाई विशेष रुपमा मनाउँछन् । भारतको नागाल्याण्ड, मणिपुर, आसाम, दार्जिलिङ, सिक्किम, देहरादून, भाक्सु आदि स्थानमा रहेका नेपालीले मनाउने दशैंक गमक नै अलग हुन्छ । सिक्किममा त सरकारी पर्वकै रुपमा यसले महत्व पाएको छ । देश विदेशमा छरिएर रहेका लाखौं नेपालीले आफ्नो कार्यस्थलमा गक्षअनुसार दशैं महत्वकासाथ मनाउने गरेका छन् । यति भन्दाभन्दै पनि आयो दशैं ढोल ठटाई, गयो दशैं ऋण बोकाईको आहानबाट जोगिनु परम् कर्तव्य बनेको छ ।


 

सांस्कृतिक धरोहर अधिष्ठात्री

संम्बधित खबर

विशेष