आज बडादशैँको नवौँ दिन सिद्धिदात्री देवीको पूजा अर्चना गरिँदै
काठमाडौँ । नेपालीहरुको महान चाड बडा दशैँको आज नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरी मनाईँदैछ । दायाँतर्फको तल्लो हातमा चक्र, माथिल्लोमा गदा, बायाँतर्फको तल्लो हातमा शंख, माथिल्लोमा कमल बोकेकी सिंहमा सवार देवीलाई सिद्धिदात्रीका रुपमा चिन्ने गरिन्छ । भगवान शिवले सिद्धिदात्री देवीकै आराधना गरेर सिद्धि प्राप्त गरेको धार्मिक विश्वास छ ।
सोही कारण उनको आधा शरीर देवीको भएको र उनी अर्धनारिश्वर नामबाट प्रसिद्ध भएको धार्मिक मान्यता पनि छ । आज महानवमी पनि हो । चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेको दिनका रूपमा पनि महानवमीलाई लिइन्छ ।
आज हनुमानढोका दरबारका साथै सेनाका ब्यारेकहरूमा बाजागाजासहित बलि दिएर जंगी निशान र कोत पूजा गर्ने चलन पनि छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ ।