सिद्धिदात्रीको आराधना : यस्तो हुनेछ लाभ
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चण्द्रघण्टेति कुष्माण्डेति चतुर्थकम्।।
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः।।
उल्लेखित नवदुर्गाका नौ रुपमध्ये आज बडा दशैंको नवौँ दिन । आज दसैं घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको पूजा आराधना गरी मनाइँदै छ ।
महानवमीको दिनमा घटस्थापनादेखि दैनिक रूपमा गरिने सप्तसती वा देवीभागवतको पाठ पूर्ण हुन्छ । यसै दिन हवन पनि गरिन्छ । सिद्धिदात्री देवीका चार हात र सिंह वाहनले सबैलाई अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व गरी आठ सिद्धि प्रदान गर्दछिन् ।
सिद्धिदात्री देवीले चार हातमध्ये दायाँतर्फका दुई हातमा गदा र चक्र तथा बायाँतर्फका दुई हातमा शंख र कमलपुष्प धारण गरी कमलपुष्पमा विराजमान हुनुभएको छ ।
सृष्टिक्रममा भगवान् शिवले पनि आफ्ना आराध्यदेवीका रूपमा सिद्धिदात्री देवी योगमायाको अनुकम्पाले ब्रह्मा, विष्णु र महेशको रूप धारण गरी जगत्को सृष्टि, पालन र लय गर्नुहुन्छ । सिद्धिदात्रीको अनुकम्पाले भगवान् शिवले आफ्नो स्वरूप नै अर्धनारीश्वर बनाउनुभयो । सिद्धिदात्रीको अनुकम्पा प्राप्त भए जगत्मा केही पनि अप्राप्य र दुर्लभ हुँदैन भन्ने भाव रहेको छ ।
मूलाधार चक्रदेखि सहस्र दलसम्मको तन्त्रविधिअनुसार प्रत्येक दिन एक–एक चक्रको जागरण भई सहस्र दलमा गएर लय हुन्छ । तन्त्रमा भगवतीको उपासना महत्त्वपूर्ण रहेको छ । चामुण्डादेवीले रक्तबिज असुरको संहार गरेको दिनका रूपमा पनि महानवमीलाई लिइन्छ ।
नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।
सिद्धिदात्री नवरात्र