News Breaking News

सी चिनफिङको दुई दिने नेपाल भ्रमणको मिति तय

सी चिनफिङको दुई दिने नेपाल भ्रमणको मिति तय

काडमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणको मिति तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई दिने भ्रमणका क्रममा सी असोज २५ गते नेपाल आउने छन् भने २६ गते साँझ फर्किने छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लागेका सीको भ्रमणमा क्रममा केही महत्वपूर्ण दुई पक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले जनाएअनुसार नेपालमा रहँदा सीले राष्ट्रपति भण्डारीसँग दुई पक्षीय भेटवार्ता गर्नेछन्। त्यस्तै सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पनि औपचारिक भेटवार्ता हुनेछ। औपचारिक भेटवार्ताका क्रममा केही दुई पक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने पनि मन्त्रालयले जनाएको छ।

नेपालमा रहँदा सीले अन्य राजनीतिक दलका नेताहरूसँग पनि भेट्ने कार्यक्रम छ। उनी असोज २६ गते स्वदेश फर्कनेछन्। सन् २०१३ मा चीनका राष्ट्रपति बनेका सी राष्ट्रपतिका रूपमा पहिलो पटक नेपाल आउन लागेका हुन्।

विशेष