News

‘फास्ट ट्र्याक’बाट हिँड्दै प्रधानमन्त्री, मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी

‘फास्ट ट्र्याक’बाट हिँड्दै प्रधानमन्त्री, मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यशैली बदलेर ‘फास्ट ट्र्याक’बाट अघि बढ्ने प्रस्ट संकेत गरेका छन् । छिटो परिणाममुखी कार्यसम्पादनका लागि सल्लाहकार र सचिवालय समूहका सदस्यलाई राजीनामा दिएर सहयोग गर्न निर्देशन दिएका छन् । 

शुक्रबार बसेको सल्लाहकार र सचिवालय समूहको संयुक्त बैठकमा मुख्य सल्लाहकार विष्णु रिमालले अन्य सदस्हरूलाई प्रधानमन्त्रीको सन्देश सुनाएका थिए । यससँगै सल्लाहकार र स्वकीय सचिवालयका १३ जनाले १ मंसिरबाट लागू हुने गरी सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका छन् । 

‘प्रधानमन्त्रीज्यूले कामलाई गति दिन चाहनुभएको छ, त्यसका लागि सल्लाहकार समूह र स्वकीय सचिवालय समूहको पनि पुनर्संरचना गर्नुपर्ने हुन सक्छ, कसैलाई बस्नुस्, कसैलाई जानुस् भन्न पनि उहाँलाई अप्ठ्यारो होला, त्यसैले हामी सबैले १ मंसिरबाट लागू हुने गरी सबैले सामूहिक राजीनामा दिएर प्रधानमन्त्रीको योजनामा सहयोग गरौँ,’ रिमालको नेतृत्वमा सम्पन्न संयुक्त बैठकपछिको निष्कर्ष सुनाउँदै सचिवालयका एक सदस्यले भने । 

तिहारलगत्तै स्वास्थ्य स्थिति प्रतिकूल बनेपछि प्रधानमन्त्रीले अध्यक्ष प्रचण्डसँगको परामर्शपछि फास्टट्र्याकबाट काम अघि बढाउने संकेत गर्दै पहिलो चरणमा केही सल्लाहकार र सचिवालय सदस्यहरू हेरफेर गर्न खोजेका हुन् । सल्लाहकार र सचिवालयमा हेरफेरपछि दोस्रो चरणमा मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको 
तयारी छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले राजीनामा दिन प्रधानमन्त्रीबाट निर्देशन आएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । ‘मलाई यस विषयमा कुनै जानकारी छैन,’ अर्यालले भने, ‘मसँग यो प्रश्नको अहिले कुनै जवाफ छैन ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

केपी शर्मा ओली फास्ट ट्र्याक

विशेष