News

विश्वका प्रदूषित ३० सहरमध्ये काठमाडौं सातौं स्थानमा

विश्वका प्रदूषित ३० सहरमध्ये काठमाडौं सातौं स्थानमा

काठमाडौंः केही दिन भयो, काठमाडौंको आकाश लगातार धुम्म छ । दिल्लीको वायु प्रदूषणले अन्तर्राष्ट्रिय चर्चा पाइरहेका बेला धेरैलाई आशंका भयो– यहाँ पनि उतैको विषाक्त वायु त आइपुगेन ?

तर विज्ञहरू भन्छन्– यो बाह्य प्रभाव होइन । काठमाडौंको वायुमण्डल आफैंमा प्रदूषित छ । हामीले पलपल सास फेर्ने हावामा धूवाँ र धूलोको मात्रा ‘अत्यधिक’ छ । सरकार र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तोकेको भन्दा ६ गुणा बढीसम्म त्यस्तो धूवाँधूलो रेकर्ड भएको छ ।

सम्झनुस् हाम्रो टाउकाको एउटा रौं । यसको औसत मोटाइ १०० माइक्रोमिटर हुन्छ । त्यो मोटाइलाई ४० भाग लगाउने हो भने एउटाको आकार २.५ माइक्रोमिटर बराबरको बन्छ । यसलाई हाम्रा आँखाले देख्न सक्दैन । प्राविधिक भाषामा यसलाई (पार्टिकुलेट्स म्याटर) पीएम–२.५ भनिन्छ ।

विज्ञहरूका अनुसार पीएम २.५ कणलाई खुला आँखाले देख्न सकिँदैन । यी कण नाक र मुखबाट सीधै फोक्सोमा जाने भएकाले स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिन्छ । क्यान्सरसमेत निम्त्याउन सक्ने रसायन मिसिएका यी कणले रक्तसञ्चार प्रणाली र मुटुलाई आघात पु‍र्‍याउने जानकारहरू बताउँछन् ।

यस्ता ससाना धूवाँधूलोका कण प्रतिघनमिटर हावामा ४० माइक्रोग्रामभन्दा बढी छन् भने श्वासप्रश्वासका लागि हानिकारक मानिन्छ । राजधानीको व्यस्त क्षेत्र रत्नपार्कमा गत बिहीबार पीएम–२.५ को मात्रा ६७ माइक्रोग्राम रेकर्ड भयो ।

चिसो बढेसँगै यो मात्रा पनि बढ्दै जानेछ । यो ०७५ को हिउँदमा १४५.४७ माइक्रोग्रामसम्म पुगेको रेकर्ड छ । यो डब्ल्यूएचओले तोकेको मापदण्डभन्दा झन्डै ६ गुणा बढी हो । अघिल्लो साता दिल्लीको वायुमण्डलमा पीएम २.५ को मात्रा एक घण्टाको औसत लिँदा ९ सय माइक्रोग्राम प्रतिघनमिटरसम्म पुगेको थियो । अहिले त्यो घटिसकेको छ ।

डब्ल्यूएचओले पीएम २.५ को मात्रा प्रतिघनमिटर हावामा २५ माइक्रोग्राम (२४ घण्टामा) भन्दा बढी हुन नहुने मापदण्ड तोकेको छ । नेपाल सरकारले भने २०६९ सालमा यस्तो मापदण्ड ४० माइक्रोग्राम तोकेको छ । तोकिएयताको तथ्यांक हेर्दा वायु प्रदूषणको मात्रा कुनै दिन पनि मापदण्डभित्र छैन । सधैं नाघेकै छ । विकसित मुलुकका विश्वविद्यालय र अनुसन्धानकर्ताले गरेका अध्ययनले पनि काठमाडौं प्रदूषित सहरभित्र पर्ने गरेको देखाएका छन् ।

स्वीट्जरल्यान्डका विशेषज्ञहरूको समूहले गत बुधबार सार्वजनिक गरेको ‘आईक्यू एअर भिजुअल’ प्रतिवेदनमा विश्वका ३० प्रदूषित सहरको सूचीमा काठमाडौं सातौं स्थानमा परेको छ । यसअघि अन्य विशेषज्ञले गरेका अध्ययनले पनि काठमाडौं प्रदूषित १० नम्बरभित्र पर्ने गरेको थियो । डेनिस सरकारको सहयोगमा तत्कालीन जनसंख्या तथा वातावरण मन्त्रालयले ०५९ सालदेखि काठमाडौंमा वायु प्रदूषणको अवस्थाबारे अध्ययन सुरु गरेको हो । त्यसअघि नेपालको वायु प्रदूषणबारे विदेशी अनुसन्धानकर्ताले आफ्नै प्रयोजनका लागि गरे पनि सरकारीस्तरमा अध्ययन भएको पाइँदैन ।

०५९ सालमा राजधानीमा वायुको गुणस्तर थाहा पाउन काठमाडौं, भक्तपुर र ललितपुरमा सर्वसाधारणको बढी आउजाउ हुने ७ स्थानमा प्रदूषण मापन केन्द्र राखिएको थियो । ती केन्द्रले वायुमा रहेका धूलोका कण (पीएम १०) मापन गर्थे । सरकारले पीएम १० को मात्रा प्रतिघनमिटर हावामा १२० माइक्रोग्राम हुनुपर्ने मापदण्ड तयार गरेको छ । यो मापदण्ड ०५६ सालमा तोकिएको हो ।

पीएम १० पनि हानिकारक धूलोका कण नै हुन् । यिनको आकार पीएम २.५ भन्दा चार गुणा ठूलो हुन्छ । यी कण पीएम २.५ जस्तो फोक्सोसम्मै भने पुग्दैनन् । घाँटीसम्म पुग्ने भएकाले श्वासप्रश्वास र दमका रोगीलाई यसले हानि पुर्‍याउँछ । यस्ता कणले बालबालिका र वृद्धवृद्धालाई बढी असर गर्ने चिकित्सकहरूको भनाइ छ । याे समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

वायु प्रदूषण काठमाडौं प्रदूषित सहर

विशेष