News

बुलबुल आँधी : नेपालमा कस्तो असर पर्ला ? 

बुलबुल आँधी : नेपालमा कस्तो असर पर्ला ? 

काठमाडौँ । भारत र बंगलादेशमा बुलबुल आँधीका कारण हजारौं नागरिक प्रभावित भएका छन् । आँधीका कारण भारतको पश्चिम बंगालको सागर टापु नजिकै पहिरो गएको छ भने पश्चिम बंगालमा दुई जनाको मृत्यु भएको छ । अन्य दर्जनौँ घाइते भएका छन्।

आँधीले रुखहरु लड्दा ओडिसाका कैयौं क्षेत्रमा यातायात प्रभावित भएको छ । बुलबुल चक्रवात उत्तर पूर्व तर्फ बढिरहेको र बंगलादेश तर्फ अघि बढिरहेको भारतीय मौसम विभागले जनाएको छ । आँधीका कारण सो क्षेत्रका विमानस्थल र बन्दरगाहहरु बन्द गरिएको छ । भारतीय राज्य पश्चिम बंगाल मुख्यमन्त्री ममता बेनर्जीले नागरिकलाई सुरक्षित स्थानमा बस्न अपिल गरेकी छिन ।

१ सय ५० किलोमिटर प्रतिघण्टाको बेगमा आएको आँधीका कारण तटीय क्षेत्रमा मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बंगलादेशको मार्टिन टापुमा आँधीमा सयौं मानिस फसेका छन् । एकलाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ ।
 

नेपालमा कस्तो असर पर्ला ? 

बुलबुल आँधी बंगलादेश नजिक रहेको र यो प्रणाली हाल उत्तरपुर्वी दिशातर्फ बढ्ने देखिएको नेपालको मौसम विभागले जनाएको छ । तर यसको असर नेपालमा भने नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगलादेशको उत्तरपूर्वी भूभागबाट यो बाहिरिने भएकाले यसको असर नेपालमा पर्ने सम्भावना नभएको मौसम विभागले जनाएको छ । 

- यो सामग्री पब्लिक न्युज एजेन्सी डट कम (publicnewsagency.com ) बाट साभार गरिएको हो । यहाँले पनि पब्लिक न्युज एजेन्सीबाट सामग्री निःशुल्क प्राप्त गरी पुनः प्रकाशन गर्न सक्नुहुनेछ । 

विशेष