ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
जलेश्वरः महोत्तरीमा ट्याक्टरको ठक्करबाट एक बालकको ज्यान गएको छ । शनिबार साँझ साईकलमा सवार बालकलाई जिल्ला प्रशासन कार्यालय जाने बाटोमा ट्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
जलेश्वर नगरपालिका–२ निवासी विनोद मुखियाका ९ वर्षीय छोरा राजकुमार साईकलमा घर जाँदै गर्दा लु २ त ७६९९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका बालकलाई उपचारको लागि जलेश्वर अस्पताल लगिएको थियो ।
अस्पतालमा राति चेकजाँचको व्यवस्था नभएको भन्दै डाक्टरले बालकलाई जनकपुर रेफर गरेका थिए । बालकलाई जनकपुर अस्पताल पुर्याउँदा पनि उपचार सम्भव नभएको भन्दै अस्पतालले धरान रेफर गरेको थियो । बालकलाई उपचारको लागि धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बालकलाई ठक्कर दिने ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।