News

गुरु नानकको जन्म जयन्तीमा लंगर भब्यरुपमा मनाइने 

गुरु नानकको जन्म जयन्तीमा लंगर भब्यरुपमा मनाइने 

काठमाडौँ । गुरु नानकको जन्म जयन्ती भब्यरुपमा मनाइने भएको छ । आगामी मंगलबार विहान ११ बजेदेखि बेलुका ७ बजेसम्म भब्य कार्यक्रम गरी प्रसाद वितरण हुने आयोजकले जनाएको छ ।

आयोजकहरु विश्व सिख सहायता संघ, संगत टीभी बेलायत तथा नेपालको सिख समुदायको संयोजकत्वमा गुरुद्वारा नानक मठ बालाजुमा प्रसाद वितरण कार्यक्रम गर्न लागिएको हो । लंगर सेवामा निःशुल्क प्रसाद ग्रहण गरिदिन विश्व सिख सहायता संघ, संगत टीभी, बेलायत र सिख समुदाय, नेपालले आग्रह गरेको छ ।

यसका लागि ९८४०२४०५६७, ९८१३३५४८८१मा सम्पर्क गर्न पनि समुदायले आग्रह गरेको छ । शिख समुदायका हरसिमरन जित सिंहले गुरु नानकले सुरु गरेको लंगर नेपालमा पनि ७ वर्षदेखि थालिएको जानकारी दिए ।

पब्लिक न्युज एजेन्सीसँग उनले भने– ‘यसमा जो पनि आउन सक्छन् । हामी कुनै पनि धर्म मानेकै आधारमा भेदभाव गर्दैनौँ । हाम्रा लागि सबै समान हुन् ।’ उनले लंगरमा सहभागी हुन सबै शिख समुदाय र नेपालीहरुमा अपिल पनि गरे । 

शिख के हुन् ? के छ उनीहरुको नेपाल साइनो ? 

डक बादशाहको उपमा बनाएको शिख समुदाय भारतमा १५ औँ शताब्दीमा उदय भएको थियो । शिखहरुको नेपाल कनेक्शन हेर्दा राजा जयजगत मल्लका पालादेखि सुरु भएको हो ।

राजा जयजगतका पालमा शिख गुरु आदिदेव धार्मिक यात्राका लागि काठमाडौँ आएका र उनले मानसिक सन्तुलन गुमाएका राजाका छोरालाई सन्चो गराईदिएपछि काठमाडौँको बालाजु, म्हैपीमा बक्सिस स्वरुप १६ सय रोपनी जग्गा पाएका थिए ।

सोही समयदेखि शिखको नेपाल कनेक्शन सुरु भएको पाइएको छ । अर्कोतर्फ शिख हेरिटेज अफ नेपाल पुस्तकमा उल्लेख भए अनुसार ब्रिटिश शासनकालमा करिब डेढ सय वर्ष अघि शिख समुदाय नेपाल प्रवेश गरेको उल्लेख गरिएको छ । भारतमा अंग्रेजको पोल्टामा पुगिनसकेको स्वतन्त्र पञ्जाब राष्ट्र र नेपालबीच भाइचारा रहेको थियो ।

ब्रिटिश अंग्रेजसँग पराजित हुनु परेपछि तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले पञ्जाब महाराजा रणजीत सिंहसँग सहयोग मागे । सिंहले १० हजार  शिख फौज सहयोगका लागि पठाए । नेपाल अंग्रेजबीच सुगौली सन्धि भएपछि सहयोगार्थ नेपाल आएको १० हजार शिख फौज नेपालगञ्जमा बसेको उल्लेख छ । 

त्यसैले पनि नेपालगञ्ज, बाँकेका जमुनाह, वनकटहवा, बकौली लगायतका स्थानमा शिखहरुको ठूलो समुदाय छ । 
अहिले शिखहरु प्रहरी, सशस्त्र प्रहरी, प्राविधिक लगायतका सरकारी पदमा कार्यरत छन् । 

- यो सामग्री पब्लिक न्युज एजेन्सी डट कम (publicnewsagency.com ) बाट साभार गरिएको हो । यहाँले पनि पब्लिक न्युज एजेन्सीबाट सामग्री निःशुल्क प्राप्त गरी पुनः प्रकाशन गर्न सक्नुहुनेछ । 

 


 

विशेष