प्रशासनले यस्तो गरेपछि छात्रा रातभरि छात्रावास बाहिरै
भैरहवा — युनिभर्सल साइन्सेस अफ मेडिकल कलेज भैरहवाका विद्यार्थी आन्दोलित भएका छन् । जनप्रशासनले लिएको अतिरिक्त शुल्क समायोजन तथा फिर्ता हुनु पर्ने माग राख्दै विद्यार्थी आन्दोलित भएका हुन् । उक्त कलेजको बिडिएस र एमबिबिएस तहको प्रथम वर्षमा अध्ययनरत विद्यार्थी आफुलू राखेको माग कलेज प्रशासनले बास्ता नगरेको भन्दै हिजोदेखि आन्दोलनमा उत्रिएका हुन् ।
विद्यार्थीले राखेका ६ बुँदे माग सहितको ज्ञापन पत्र बुझाउन खोज्दा कलेज प्रशासनले बेवास्ता गरेको आरोप लगाउँदै विद्यार्थीको समूहले जिल्ला प्रशासन कार्यालयमा गइ ज्ञापनपत्र बुझाएको थियो।
कलेजमा फर्किँदा कलेज प्रशासनले गेट बन्द गरी विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको आरोप आन्दोलनरत विद्यार्थी समूहको छ।
आउँदो बुधवारदेखि परीक्षा सुरु हुने भएपनि कलेजका विद्यार्थी भने आजदेखि कलेजको मूल गेट अगाडि जम्मा भई धर्नामा बसेका छन्।
कलेज प्रशासनले छात्रावास बन्द गरी छात्रालाई बाहिर निस्किन नदिएको र ज्ञापनपत्र बुझाएका विद्यार्थीलाई कलेज भित्र जान नदिएकाले रातभरि कलेज बाहिरै बिताउनु परेको आरोप विद्यार्थीले लगाए।कलेज प्रशासनले भने अतिरिक्त शुल्क समायोजन तथा फिर्ताको समस्या एउटा कलेजमामात्रै नभएर मुलुक भरिको मेडिकल कलेजको समस्या भएको र त्रिभुवन विश्वविद्यालय तथा सरकारले कायम गरेको मापदण्डलाई कार्यान्वयन गर्न तयार रहेको जनाएको छ।
ज्ञापनपत्र बुझाउने नाममा आन्दोलनरत विद्यार्थी समूहमा बाहिरी मेडिकल कलेजका विद्यार्थीको घुसपैठ रहेको र ज्ञापनपत्र बुझाउनकालागि प्रक्रियागत रुपमा आउन भन्दा विद्यार्थी समूहले अटेर गरेको दाबी कलेज प्रशासनको छ।
कलेजका प्रमुख प्रशासकीय अधिकृत अजय कुमार पिएसले कलेज आन्दोलनरत विद्यार्थीलाई वार्तामा आउन र ज्ञापनपत्र बुझाउन प्रक्रियागत रुपमा बोलाउँदा विद्यार्थी समूह नमानेको दाबी गरे। आउँदो बुधवारदेखि सुरु हुने परीक्षा कुनै हालतमा पनि कलेज प्रशासनले नरोक्ने जानकारी दिँदै उनले यसबारे राज्यले त्रिभुवन विश्वविद्यालयले अवलम्बन गर्ने नीतिलाई कलेजले कार्यान्वयन गर्ने जनाए।
उता, धनर्मामा रहेका विद्यार्थीले भने कलेजले लिएको अतिरिक्त शुल्कको सबै प्रमाण स्थानीय जिल्ला प्रशासन कार्यालयमा पेस गर्ने जनाएका छन्।