News

सरकारको निर्णय नमान्ने सञ्चालकलाई कारबाही गर्ने मन्त्री पोखरेलको चेतावनी

सरकारको निर्णय नमान्ने सञ्चालकलाई कारबाही गर्ने मन्त्री पोखरेलको चेतावनी

काठमाडौँ । सरकारको निर्णय नमान्ने मेडिकल सञ्चालकहरुलाई कारबाही गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिएका हुन् ।

मन्त्री पोखरेलले आगामी १५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउने निर्णय गरिएको जानकारी दिएका हुन् । कारबाही प्रक्रियाका बारेमा शिक्षा मन्त्रालयले गृहमन्त्रालयलाई आज पत्र लेखेर जानकारी गराउनेपनि मन्त्री पोखरेलले बताए ।

मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयका उपकुललपति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्षसहित राखेर गरेको मन्त्रीस्तरीय बैठकले १५ दिनको अल्टिमेटम दिने निर्णय गरेको हो । यता निजी मेडिकल कलेज सञ्चालकहरु सरकारको निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै सरकारलाई तालाचाबी बुझाउने भन्दै धम्की दिँदै आएका छन् ।

यस्तै शिक्षामन्त्री पोखरेलले डाक्टर गोविन्द केसीको अनशन असान्दर्भिक रहेको जनाएका छन् । उनले सिंगो देश लिपुलेकको विषयतर्फ हुँदा केसीलाई अनशनमा नबस्न आग्रह समेत गरेका हुन् ।

मन्त्री पोखरेलले डाक्टर केसीको शिक्षा मन्त्रालयसँग सम्बन्धित माग सम्बोधन भइरहेकाले अनशन आफ्नो मन्त्रालयसँग मात्रै नजोडिएको समेत उल्लेख गरे । मन्त्री पोखरेलले केसीकै माग अनुसार चिकित्सा शिक्षा ऐन बनेर लागु हुने क्रममा रहेको समेत स्मरण गराए । 

विशेष