आलम पक्राउ प्रकरण : अनुसन्धान सकियो, बाँचुन्जेल जेल हाल्न प्रहरीको राय
काठमाडौँ । नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमले १२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र मान्छे जलाएको घटनाबारे प्रहरीले अनुसन्धान टुंग्याएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले गरेको अनुसन्धानबाट २०६४ चैत २७ गते रौतहटको राजपुर– ४ मा बम बिस्फोट हुँदा केही मानिस मरेको र केही घाइते भएको पुष्टि भएको हो।
प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन आजै रौतहटको सरकारी वकिल कार्यालयलाई बुझाइएको छ। ‘अनुसन्धान सकेर सरकारी वकिललाई प्रतिवेदन बुझाएको रौतहटका प्रहरी प्रवक्ता तथा डिएसपी नवीन कार्कीले जानकारी दिए ।
रौतहटको सरूअठ्ठाका ओसी अख्तर र त्रिलोक सिंह पिन्टु उक्त बम बिष्फोटमा मारिएको तथा सर्लाहीका सफी अहमदसमेत दुई जना घाइते भएको अनुसन्धानबाट भएको पुष्टि भएको उनले बताए।
दुई जनाको हत्या गरेकोमा कर्तव्य ज्यान, अहमदलाई घाइते बनाएकोमा ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थको कारोबार र भण्डारण गरी बिष्फोट गराएको भन्दै आलमलाई मुद्दा चलाउनु पर्ने प्रतिवेदन प्रहरीले पेश गरेको छ ।
रौतहटका सरकारी प्रमुख सरकारी वकिल खडिन्द्र कटुवालले आलमसहित दशजनाविरूद्ध मुद्दा चलाउने रायसहितको प्रहरीको प्रतिवेदन आफूहरूले बुझेको बताए।
आलमलाई घटना भएका बेला लागू हुने कानुनअनुसार सर्वस्वसहित जन्मकैद हुनु पर्ने प्रहरी प्रतिवेदनमा राय दिइएको छ।
प्रहरी प्रतिवेदनमा भएका तथ्य र प्रमाण हेरेर सरकारी वकिल कार्यालयले मुद्दा चलाउनेरनचलाउने निर्णय गर्नेछ। प्रमुख सरकारी वकिल कटुवालले सोमबारसम्म मुद्दा चलाउनेरनचलाउने निर्णय गरिने जानकारी दिए।