जुवाडेहरुले सर्वोच्चबाट फिर्ता लिए बन्दी प्रत्यक्षीकरणको रिट
काठमाडाैँ – ‘भीआईपी जुवाडे’हरुले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिएका छन् । गत आइतबार जुवा खेल्दाखेल्दै काठमाडौं महाराजगञ्जबाट पक्राउ परेकामध्ये १४ जना ले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिएका हुन् ।
आफूहरुलाई गैरकानूनी रुपमा थुनामा राखेको प्रमाण पुर्याउन नसकेको भन्दै १४ जनाहरुले शुक्रबार सर्वोच्चबाट बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिएकाे जानकारी अदालतकाे प्रशासनले दिएकाे छ ।
पक्राउ परेकामध्ये ६ जनाले पक्राउ परेकै दिन आइतबार दिउँसो सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । अन्य ८ जनाले बुधबार अदालतमा रिट दायर गरेका थिए ।
अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै उनीहरुलाई अदालतमा उपस्थित गराउन भनेको थियो । अदालतको आदेशानुसार प्रहरीले रिट दायरकर्तालाई सोमबार, मंगलबार, बुधबार र बिहीबार समेत अदालतमा उपस्थित गराएको थियो ।
तर, शुक्रबार अदालतमा हाजिर हुने समयमा उनीहरुले रिट फिर्ता गर्ने निवेदन दिएका हुन् ।
प्रहरीले घटनाको अनुसन्धान गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता गर्ने तयारी गरेपछि पक्राउ परेकाहरुले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् ।
प्रहरीले बिहीबार मात्रै २५ जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराएको थियो । प्रशासन कार्यालयले उनीहरुमाथि अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेको थियो । थपिएको म्याद पक्राउ परेको दिनदेखि लागू हुने भएका कारण उनीहरुविरुद्ध थपिएको म्याद शनिबार सकिँदै छ ।
प्रहरीले अब उनीहरुलाई आइतबार प्रशासन कार्यालयमा उपस्थित गराउने छ । प्रहरीले गत आइतबार काठमाडौंको महाराजगञ्जबाट २५ जनलाई २ करोड ६७ लाख नगद र ३ लाखकाे चेकसहित जुवा खेल्दाखेल्दै पक्राउ गरेको थियो ।