महरा पत्नी सीता भन्छिन् – भोलिपल्टै मोबाइल फुटाईदिएँ
काठमाडौँ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अनुसन्धानका लागि प्रहरी अधिकारीलाई मोबाइल फोन दिएनन् । त्यतिमात्र होइन उनले पोलिग्राफ गर्न मानेनन्, डिएन ए टेस्ट गर्न रगत दिएनन् । घटनाको भोलिपल्ट रोशनीलाई फोन गरेका महराले आखिर मोबाइल कहाँ पु-याए त ?
महरा पत्नी सीताले महराले प्रयोग गर्ने गरेको मोवाइल फोन फुटाइदिएको बयान दिएकी छन् । उनले मोवाइल फोनकै कारण घट्ना हुन गएको भन्दै आफू मोवाइल फुटाउने निर्णयमा पुगेको बयान दिएकी छिन् । सरकारी वकिलको कार्यालय मार्फत अदालतमा दायर अभियोगपत्रमा महराकी श्रीमती सीता महराले दिएको बयान उल्लेख छ ।
जसमा भनिएको छ– ‘मिति २०७६ असोज १३ गते विभिन्न सञ्चारमाध्यमहरुमा मेरो श्रीमान् कृष्णबहादुर महराले मिति असोज १२ गते परिवर्तित नाम (वृत्त नयाँबानेश्वर–२६(३०)२०६७।०७७ लाई निज पीडितको कोठामा गई जवरजस्ती करणी गर्न खोजेको र मेरो श्रीमानको मोवाइलबाट पीडितको मोवाइलमा म्यासेज समेत पठाएको भन्ने समाचारहरु आएपछि मलाई रिस उठी सम्पूर्ण समस्याको कारण श्रीमानको मोवाइल ठानी निजले प्रयोग गर्ने मोवाइल मैले खोसेर फाली फुटाइदिएकी थिएँ,’ भन्ने उल्लेख छ ।
यता सरकारी वकिलको कार्यालयले तयार पारेर अदालतमा दायर भएको अभियोग पत्रको पेज नम्बर १६ मा भने महरा पत्नी सीताले दिएको घटना विवरण उल्लेख छ । जसमा सीताले उक्त मोवाइल आफूले फुटाएको भएतापनि सुरक्षित साथ राखेको तर पछि कोठा सर्ने बेलामा हराएको बताएकी छिन् ।