महराको बयान सकियो, कहिले हुन्छ थुनछेक बहस?
काठमाडौं - बलात्कार प्रयास अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सकिएको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतमा महराको बयान लिइएको हो। जिल्ला अदालत, काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र महराको थुनछेक बयान भएको हो ।
उनलाई आइतबार थुनछेक बहसमा लागि अदालतमा उपस्थित गराउने अनुमति पनि दिइएको अदालतका फैसला कार्यान्वयन अधिकारी संजीव पोखरेलले जानकारी दिए।
बयान लामो भएपछि थुनछेक बहस हुन नपाएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले बताए ।उनले भने, ‘आज बयान सकिएन । आइतबार बिहान १० बजे उपस्थित गराउने गरी छाडेका छौं ।’
महराले बयानमा वारदात स्थलमा नपुगेको दाबी गरेका छन् । घटना भएको भनिएको घर छेउ पुगे पनि सम्पर्क नभएपछि भित्र नछिरी फर्किएको उनको बयान छ ।
महरालाई प्रहरीले पुनः थापाथलीस्थित नर्भिक अस्पताल लगेका छन् । संसद सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरा केही दिन सिंहदरबार प्रहरी वृत्तको हिरासतमा बसेका थिए ।
तर, अस्वस्थ भएको भन्दै अस्पताल भर्ना गरिएको थियो । त्यसयता उनी नर्भिक अस्पतालमै छन् । महराविरुद्ध बिहीबार दिउँसो जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता भएको थियो ।
आइतबार थुनछेक बहस सकिए पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्ने मध्ये एक आदेश हुनसक्छ ।