News

'प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी पाउनु नागरिकको नैसर्गिक हक हाे'

'प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी पाउनु नागरिकको नैसर्गिक हक हाे'

काठमाडाैँ – सत्तारुढ दल नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्य अवस्थाका बारेमा जानकारी पाउनु नागरिकको नैसर्गिक हक रहेकाे एक सूचना हकका अभियन्ताले बताएका छन्।

नेपाल पत्रकार महासंघका पूर्वसभापति समेत रहेका सूचनाको हकसम्बन्धी अभियन्ता तारानाथ दाहालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी पाउनु नागरिकको नैसर्गिक हक भएको बताएका हुन्।

‘केही विषय र सूचना गोप्य पनि राख्नुपर्छ, गोप्य राख्नुपर्ने विषयलाई संविधानमा पनि समेटिएको छ तर प्रधानमन्त्री ओली मिर्गाैलाको बिरामी हुनुहुन्छ भन्ने कुरा यसअघि नै सार्वजनिक भएको हो, प्रधानमन्त्रीको हेमोडायलासिस गरिएको रहेछ, त्यहीँ गरिंदैछ भन्ने सूचना दिएको भए देशको सार्वभौमसत्ता संकटमा पर्ने, राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने, देशको कूटनीतिक सम्बन्धमा असर पर्ने, व्यक्ति वा सम्प्रदायबीच वैमनष्यता उत्पन्न हुने वा साम्प्रदायिक हिंसा फैलिने अवस्था थिएन, त्यसैले आधिकारिक निकायबाट यस्तो सूचना प्रवाह हुनै पर्थ्याे,’ दाहालले भने ।

नेपाल पत्रकार महासंघकै अर्का पूर्वसभापति शिव गाउँले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे समयमै सही सूचना प्रवाह हुनुपर्ने बताउँछन् ।‘सही सूचना नदिएपछि हल्लाहरू समाचार बन्न थाल्छन्, प्रधानमन्त्रीको सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय यसतर्फ गम्भीर हुनैपर्छ,’ गाउँलेले भने ।

पूर्वसभापति दाहाल आधिकारिक निकायले समयमै सही सूचना उपलब्ध नगराएका कारण देशमा कुनै समस्या आएको भए त्यसको जिम्मेवार को हुन्थ्यो भन्ने प्रश्न गर्छन् । ‘समयमा सही सूचना नदिँदा बेचैनी हुन्छ, भ्रम उत्पन्न हुन्छ, अनावश्यक हल्ला हुन्छ, यस्तो हल्ला, बेचैनी र भ्रमले अराजकता सिर्जना गर्छ, त्यो अराजकताले संकट र अव्यवस्था ल्याउँछ, प्रधानमन्त्री बिरामी परेर अस्पतालमा हुनुहुन्थ्यो, यस्तो बेलामा देशमा कुनै समस्या आएको भए त्यसको जिम्मेवार को हुन्थ्यो ?,’ दाहालले प्रश्न गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १२ वर्षअघि मिर्गाैला प्रत्यारोपण गरेको विषय सबैलाई जानकारी छ। मिर्गाैलामा फेरि समस्या देखिन थालेपछि गत भदौ महिनामा प्रधानमन्त्री ओली सिंगापुर गएर उपचार गरी फर्केकाे जानकारी पनि सबैलाई थाहा छ

र, फेरि समस्या देखिएपछि भाइटीकाको भोलिपल्ट अर्थात् १३ कात्तिकदेखि काठमाडौंको ग्राण्डी अस्पतालमा २ दिनसम्म राखेर उपचार गरियो । प्रधानमन्त्री ओलीको २ पटक हेमोडायलासिस गरियो । स्वास्थ्यमा सुधार आएपछि बिहीबार साँझ प्रधानमन्त्री ओली अस्पतालबाट फर्किसकेका छन् ।

प्रधानमन्त्री ओली अस्पताल भर्ना भएदेखि नै उनको स्वास्थ्य अवस्थाबारे यथार्थ जानकारी नपाएको गुनासो प्रेसले गर्‍याे । उनको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीको सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले औपचारिक रूपमा कुनै जानकारी दिएन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले ‘नियमित स्वास्थ्य परीक्षणका लागि जानुभएको र छिट्टै फर्कने’ जानकारी दिइरहे ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा डा. अर्यालले दिएको जानकारी झुटो रहेछ भन्ने तथ्य बिहीबार ग्राण्डी अस्पतालले गरेको पत्रकार सम्मेलनबाट पुष्टि भयो । अस्पतालले प्रधानमन्त्री ओलीको २ पटक हेमोडायलासिस गरेको जानकारी पत्रकार सम्मेलनमा दियो ।

व्यक्तिको स्वास्थ्यसँग जोडिएको विषय व्यक्तिगत गोपनीयताको विषय पनि हो । त्यसैले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको विषयमा सबै जानकारी दिन आवश्यक नपर्ने तर्क पनि सुन्न थालिएको छ ।

विशेष