प्रधानमन्त्रीको दुईपटक हेमोडायलासिस, थप उपचार योजना निजी चिकित्सकले बनाउने
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारका क्रममा दुई दिनमा दुईपटक हेमोडायलासिस गरिएको छ। काठमाडौंको ग्रान्डी अस्पतालमा बुधबार भर्ना भएका प्रधानमन्त्री ओलीको सोही दिन डायलासिस गरिएको थियो। त्यो प्रभावकारी नभएपछि बिहीबार पुनः डायलासिस गरिएको छ। उनी बिहीबारै अस्पतालबाट डिस्चार्ज भएका छन्।
उपचारमा संलग्न ग्रान्डीका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइएको छ। ‘उहाँको स्वास्थ्य परीक्षण र उपचारका क्रममा हेमोडायलासिस गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ।
अस्पतालका तर्फबाट बिहीबार पत्रकार सम्मेलन गरी मेडिकल डाइरेक्टर पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण नियमित प्रक्रिया भएको बताए। ‘उहाँको मिर्गौला प्रत्यरोपण गरिएको कुरा सबैलाई थाहा छ। त्यसकारण डायलासिस पनि नियमित चेकजाँचभित्र पर्छ ’, पाण्डेले भने, ‘उहाँका पनि निजी कुरा हुन्छन्।
बिरामीको, परिवारको अनुमति लिएर मात्रै कतिपय कुरा सार्वजनिक गर्न मिल्छ। कन्डिसन पूर्णतया राम्रो छ। रगत परीक्षण वा अन्य जाँचमा केके कुरा आयो भन्ने सबै सार्वजनिक गर्नु राम्रो होइन। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था असामान्य भएको भए हामी त्यही जानकारी दिन्थ्यौं। अहिले राम्रो छ। आजैबाट काममा फर्कन सक्ने अवस्था छ।’
यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन।
अस्पतालबाट डिस्चार्ज प्रधामन्त्री केपी ओली