डाक्टर केसीद्धारा अनसन स्थगित
काठमाडाैँ – वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफ्नो १७ औं सत्याग्रह तोडेका छन्। मंगलबार नवौं दिनमा केसीले आफ्नो सत्याग्रह तोडेको घोषणा गरेका हुन्।
डडेल्धुरामा नौ दिनदेखि अनसरत केसीले राष्ट्रियताको संवेदनशील विषयमा जनस्तरबाट आवाज उठिरहँदा देशबासीको संवेदनालाई ख्याल गर्दै सत्याग्रह स्थगित गरेको बताएका छन्। चिकित्सा शिक्षा ऐन संशोधनको प्रमुख माग राखेर उनी डडेल्धुरामा सत्याग्रह बसेका थिए।
केसीले स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार तथा सुशासनका लागि आफ्नो लडाइँ जारी नै रहने स्मरण पत्रकारहरूमार्फत गराएका छन्। सरकारले आफ्नो माग पूरा नगरे पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने उनले बताए।
सत्याग्रहकै बीचमा भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको समाचारले अरु नेपाली नागरिकजस्तै आफू पनि स्तब्ध भएको केसीले जनाएका छन्।
‘आम नागरिकमा राष्ट्रियताको भावना बलियो हुनु राम्रो हो। तर, सत्तामा हुनेहरूले राष्ट्रियताको बहाना पारेर कर्तव्यच्युत हुने, गलत काम गर्ने तथा फरक मतमाथि दमन गर्नका लागि अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने काम गरे भने त्यो स्वीकार्य हुँदैन,’ केसीले भनेका छन्।
उनले सीमा रक्षा राष्ट्रियताको पहिलो सर्त हो भन्दै सबल र आत्मसम्मानपूर्ण राष्ट्रका लागि सीमा रक्षा मात्रै काफी नभएको दाबी गरेका छन्।आम नागरिकको जीविका सहज हुने, गुणस्तरीय शिक्षा स्वास्थ्य उपलब्ध हुने तथा बिना भेदभाव र भय सबै नागरिक बाँच्न पाउने अवस्थामा मात्र राष्ट्रियता बलियो हुन सक्ने केसीको तर्क छ।
‘अहिले नेपालको पश्चिमी सीमा मिचिएको विषयमा राजनीतिक शक्तिहरूबीच जुन अभूतपूर्व तदारुकता देखिएको छ, त्यो देखावटी मात्र नभई कूटनीतिक माध्यमबाट मिचिएको भूमि फिर्ता गर्नमा केन्द्रित होस् र त्यो प्रयासले परिणाम निकालोस् भन्ने चाहन्छौं।
त्यसको अर्थ राज्यले गर्नैपर्ने बाँकी काम र जिम्मेवारीबाट उन्मुक्ति पाउने भन्ने किमार्थ हुँदैन,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘चिकित्सा शिक्षा क्षेत्रमा भएको दस अर्ब ठगीका अभियुक्त लगायतलाई न्यायको कठघरामा ल्याउने जिम्मेवारीबाट सरकार कसै गरे पनि तर्कन सक्दैन।’
गत सोमबारदेखि ७ बुँदे माग सहित आफ्नो १७ औँ सत्याग्रह थालेका उनले नौ दिनमा आएर अनशन तोडेका हुन् । उनले ४ वर्षीय स्यान्सु जैरुबाट जुस पिएर अनशन तोडेकाे उनका सहयाेगीले बताए । केसीले अहिले भारतले नेपाली भूमी कलापानी, लिपुलेख र लिम्पियाधुरा आफ्नो नक्सारमा समेटेर सीमा मिचेकाले राष्ट्रियताका लागि एकजुट हुन अनसन स्थगित गरेको बताए।