रौतहट बम विस्फोटः पीडित भनिएकाहरु धमाधम बयान फेर्दै
गौरः रौतहटको राजपुर फरदहवामा भएको बम विस्फोट घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको थुनछेक बहसकै क्रममा पीडित भनिएकाहरुले आफूहरु पीडित नभएको भनी लिखित निवेदन दिएका छन् ।
विस्फोटमा मृत्यु भएको भनिएका सरुअठाका ओसी अख्तरका श्रीमती आमना खातुनले आफ्नो श्रीमान वैदेशिक रोजगारीकै क्रममा बाहिर रहेको भनी निवेदन दिएकी छन् । त्यस्तै विस्फोटमा घाइते भएका भनिएका भारतीय नागरिक गौरीशंकर रामले सोमबार जिल्ला अदालत समक्ष आफू अन्य कारणले घाइते भएको भनी निवेदन दर्ता गराएका छन् ।
ओसी वैदेशिक रोजगारीको क्रममा बाहिर रहेको भन्दै आमनाले अदालत समक्ष दिएको निवेदन सोमबार दर्ता गरिएको छ । त्यस्तै घाइते भारतको बैरगनियाका रामले आफू बम विस्फोटमा घाइते नभएको भनी निवेदन दर्ता गराएको अदालतका श्रेस्तादार गुणराज पराजुलीले पुष्टि गरे । ‘दुवैको निवेदन मिसिलमा समापेश भइसकेको छ,’ उनले भने, ‘यस विषयमा थुनछेकमा बहस होला ।’
२०६४ चैत २७ गते बम विस्फोटको घटनामा सांसद आलम संलग्न रहेको भनी प्रहरी समक्ष बयान दिएका भारतीय नागरिक रामले आफू विस्फोटमा नभई भान्सामा काम गर्ने क्रममा घाइते भएको भनी अदालत समक्ष निवेदन दिएका हुन् ।
रामले कानुन व्यवसायी मार्फत आफू सन् २००१ मा घरमा खाना पकाउने ग्यास विस्फोट भएर घाइते भएको भनी निवेदन दर्ता गराएका छन् । उनले बम विस्फोटमा घाइते भएको प्रमाणस्वरुप भारत सीतामढीको एक अस्पतालको कागज पनि पेश गरेका छन् ।
यता विस्फोटमा घाइते अवस्थामा सांसद आलमले ओसीलाई जिउँदै चिम्नि भट्टामा हालेर मारेको भन्दै उनका आमा रोक्साना खातुनले प्रहरी समक्ष किटानी जाहेरी दिएका थिए । ओसिका ससुरा समसुल मियाँले समेत आलमले आफ्नो ज्वाइँको हत्या गरेको लिखित बयान दिएको कागज अदालतमा छ । वादीका कानुन व्यवसायीहरुले यसलाई होस्टाइलको संज्ञा दिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
रौतहट बम विस्फोट मोहम्मद अफताव आलम बयान