सेतो फापर र रातो फापरको साइनो
झुप्पामा फुल्छन फापरका फूल । ठाउँ र जातअनुसार बद्लिन्छन् फापरका रंग । जापानमा सेतो फुल्छ भने नेपालमा गलाफी । भिन्न रंग भएपनि दुई भिन्न गाउँलाई मित बनाइदिएको छ । सेतो फापरले ढकमम्क जापानी गाउँ तोगा र राता फापर फुल्ने नेपाली गाउँ टुकुचेबीच मितेरी साइनो जोडिएको छ । नेपाल–जापान सम्बन्धको प्रसंग चल्नु मात्र पर्छ, टुकुचे–तोगाको सन्दर्भ उठिहाल्छ ।
टुकुचे र तोगाबीच धेरै कुरामा समानता पाइन्छ । टुकुचेलाई बीचमा पारेर कालिगण्डकी र थाकखोला बगेका छन् भने तोगामा तोगा, मोमोसे र ओ नदी बग्दछन् । दुवै गाउँ एउटै प्रकृति र भौगोलिक अवस्थितिमा छन् । तोगामा तातेयामा (३०१५ मि.) पर्वत छ भने टुकुचेको सिरानमा निलगिरी (७०६१ मि.) हिमाल छ । तोगाको हरियाली मनोहर छ भने टुकुचेको भूदृश्य चित्ताकर्षक । दुवै गाउँ फापर निम्ति प्रसिद्ध छन् । टुकुचेले फापरको जन्मभूमिका रुपमा पहिचान राखेको छ भने तोगा फापरका परिकारका कारण प्रसिद्ध छ । त्यहाँको फापर परिकारशाला (सोवानो सातो) मा फापरका गजब गजबका व्यञ्जन पाइन्छन् । दुवै गाउँका तन्नेरीहरुमा शहर पस्ने रोग छ । त्यसैले दुवै गाउँमा बुढाबुढी र केटाकेटीको वर्चस्व छ ।
टुकुचे र तोगाबीच मितेरी साइनो गाँसिएको ११ जनवरी सन् १९८९ मा हो । त्यसदिन टकुचेको सबैभन्दा पुरानो गुम्बासम्बा गुम्बामा स्थानीय बासिन्दाले पूजाआजा गरेर यो साइनो लगाइदिएका हुन् । साइनोलाई औपचारिक रुप दिन टुकुचेका तात्कालिन प्रधानपञ्च अमृतलाल शेरचन र तोगाका तात्कालिन मेयर मिचिमासा मियाजाकीले दस्तखत गरेका थिए । तर, टुकुचे–तोगा मैत्री सम्बन्धका सेतू भने शिन्शु विश्वविद्यालयका प्राध्यापक प्रो. आकियो उजिहार हुन र कारण हो– फापरसम्बन्धी उनको अध्ययन । फापरमा विद्यावारिधि गरेका यिनी फापरकै अनुसन्धानको सिलसिलामा सन् ८० को दशकमा तोगा र टुकुचे पुगेका थिए । उनी मितेरी सम्बन्ध स्थापित हुनुअघि नै नेपाल आउजाउ गरिरहन्थे ।
नागानो केनका यी फापर विशेषज्ञ तोगाको अध्ययनपछि टुकुचे आए, जहाँ उनको भेट स्थानीय पुरेत शशिध्वज तुलाचनसंग भयो । उनका मनोहर मण्डल र पौभा चित्र देखेर उत्साही भएका उनले तुलाचनलाई तत्कालै तोगामा मण्डल बनाइदिने प्रस्ताव गरे । यही निहुँमा दुई गाउँलाई मित्रताको धागोमा उन्ने सपना थियो उनको । तोगेलीको उत्थानमा गम्भीर चासो राख्ने तात्कालिन मेयर मियाजाकीलाई यस कुरामा मनाउन कठिन काम थिएन । मेयर जब टुकुचे आए र त्यहाँको गुम्बाको भित्तामा कोरिएका चित्र देखे, दंग परे । तुलाचन र उनका पिताले बनाएका परम्परागत चित्र तोगामा गएर बनाइदिने उजिहाराको प्रस्ताव मियाजाकीले दोहोर्याए ।
मुस्ताङमा मण्डलाको काम अधूरै छाडेर गइदिए उनी तोगातिर । डेढ वर्ष लगाएर सन् १९९१ को मार्चमा ४, ४ मिटरको दुई मण्डला र ४, ४ मिटर बराबरको दुईवटा पौभा तयार गरिदिए । शान्तिका देवदेवी, ५८ देवदेवी, सुखपाटिक र हजारबाहु अवलोकितेश्वर बुद्धका विशाल चित्रलाई तिब्बती बौद्ध धर्मको सम्पदा मान्दछन् जापानीहरु । त्यसैले यी कलाकृति अहिले पनि त्यहाँको ध्यानशालाको भव्य कोठामा छुट्टाछुट्टै सजाएर राखिएको छ– दुई गाउँको मितेरीको प्रतीकका रुपमा ।
सन् १९९२ मा तोगामा आयोजित ‘वल्र्ड सोबा एक्स्पो’ मा पन्ध्र जनाको टोलीलाई नेतृत्व गर्दै तुलाचन तोगा पुगे, जसमा टुकुचेका चार जना महिलाको पनि सहभागिता थियो । नेपाल, चीनलगायत १५ मुलुक सहभागी भएको त्यो मेलामा टुकुचे टोलीले आफ्नो स्थानीय लामा नाच देखाउनुका साथै फापरका थकाली पकवान प्रदर्शन गरेको थियो । तुलाचनका सुन्दर तथा विशाल पौभा र मण्डलले मेलामा आकर्षण थपेको थियो । तोगा गाउँका ऐतिहासिक तथा सांस्कृतिक महत्वका नाचगान र झाँकीसमेत फापर मेला लगातार एक महिना चल्यो ।
फापर मेलाको अपूर्व सफलतापछि टुकुचेको सहयोगका लागि अग्रसर भए तोगेली मेयर मियाजाकी । मैत्री सम्बन्धको पहिलो उपलब्धि हो– टुकुचेको विद्यालयमा सहयोग । नदी कटान नियन्त्रणका लागि पटक पटक गरी एक करोड रुपियाँ तोगाबाट आएको छ भने मियाजाकीको कार्यकालको अन्त्यतिर टुकुचेमा एक संग्रहालय निर्माणका लागि सहयोग भइसकेको छ । टुकुचेका केही युवालाई सात वर्षसम्म तालिम र सांस्कृतिक कार्यक्रमका लागि वर्षेनी ६ जना तन्नेरी तोगा गए ।
टुकुचे–तोगाको मितेरी सम्बन्धमा भुल्नै नसकिने नाम हो– मियाजाकी । स्थानीय विकास र सामूहिक काममा अरुलाई हँसाइहँसाइ काम लिन सक्ने नौनीजस्ता नरम मान्छे हुन् यिनी । टुकुचेको जीवनस्तर उकास्न विविध सहयोग गर्न रुचाउने व्यक्ति पनि हुन् । मेयरको तीन पटकको पदावधि सकिएपछि पनि टुकुचे आउन नछाडेका उनी अहिले निजी व्यवसाय गर्छन । उनको कार्यकालमै विकासको तोगा गाउँबाट नगरमा परिणत भएको थियो । तोगाली जनताको उन्नतिका लागि चिन्तनशील मियाजाकी सम्झिरहन्छन्– हुरीबतास र पहिरो छिचोल्दै घोडा चढेर भिरालो बाटोमा गरेको यात्रा । टुकुचेबासीको न्यानो आतिथ्य, स्कुले केटाकेटी, लामा नाच, फापर, मण्डला, पौभा अनि विश्वास र मायामा अडेको निस्वार्थ एवं दरो मितेरी ।