शिक्षकलाई तलब खुवाउन महायज्ञ
गुल्मी । गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङस्थित रघुफेदी प्रतिमान माध्यमिक विद्यालयमा शिक्षकलाई तलब खुवाउन महायज्ञ आयोजना गरिएको छ। महायज्ञ यही कात्तिक २२ गतेदेखि जारी छ । कात्तिक २८ गतेसम्म महायज्ञ सञ्चालन हुने विद्यालयका प्रध्यानाध्यापक राजु चन्द बोहोराले जानकारी दिए ।
विद्यालयमा सरकारले दरबन्दी नदिएको र पठनपाठनमा समस्या रहेको भन्दै विद्यालयले महायज्ञ सञ्चालन गरेको जनाएको छ । माध्यमिक तहसम्म सञ्चालन भएको विद्यालयमा मावि तहमा हाल एक जनाको मात्रै शिक्षक दरबन्दी छ । अन्य तहमा पनि चार जनाको मात्रै दरबन्दी छ ।
विद्यालयलाई आवश्यक पर्ने अन्य नौ शिक्षक निजी स्रोतबाटै नियुक्त गरिएको छ, जसले गर्दा तलब खुवाउन समस्या भएकाले माध्यमिकस्तर दिगो समयसम्म कायम राख्न नसकिने भन्दै माध्यमिकस्तरलाई दिगो समयसम्म सञ्चालन गर्नका लागि महायज्ञ सञ्चालन गरिएको जनाइएको छ ।
अधिकांश ठाउँमा विद्यालय र पण्डितको समूहबीच अग्रिम रकमको सम्झौता भई महायज्ञ हुने गरेको समेत पाइएको छ । रघुफेदीको महायज्ञ पण्डित नारायण न्यौपानेले सञ्चालन गरिरहनुभएको छ । अहिलेसम्म उहाँले लैजाने रकमको सुनिश्चितता भएको छैन । तर उठेको रकमको आधारमा पण्डितलाई त्यसको केही प्रतिशत रकम दिइनेछ ।