रोग पहिचान नगरी शल्यक्रिया गर्दा १७ बर्षीया किशोरीको मृत्यु
गुल्मी। रोगको पहिचान नगरी शल्यक्रिया गर्दा गुल्मी रेसुङ्गा नगरपालिका–८ की १७ वर्षीया लक्ष्मी रसालीको मृत्यु भएको छ ।
पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा ‘एपेन्डिक्स’को उपचारका क्रममा शल्यक्रिया गर्दा बिरामीको रक्त नशा फुटेर रगत बगेकोे अस्पतालको दाबी छ । लुम्बिनीमा थप उपचार हुन नसक्ने भएपछि चिकित्सकसहितको टोलीसँग भैरहवा मेडिकल कलेजमा उपचारका लागि बिरामीलाई लगिएको थियो ।
शनिबार सामान्य बिरामी भएपछि पाल्पामा उपचारका लागि ल्याएको र आइतबार बिरामीको शल्यक्रिया गर्दा गदै मृत्यु भएको मृतककी आमा रेश्मी रसालीले जनाएकी छिन। डाक्टरको लापरवाहीका कारण छोरीको मृत्यु भएको पनि रेश्मिले जनाएकी छन।
'एपेन्डिक्सको शल्यक्रिया गर्दा पेटभित्र नशा फुटेर रगत जमेको थियो । जमेको रगत हटाइयो । नशा फुटेर बगेको रगत रोक्नका लागि नशाको शल्यक्रिया गर्न भैरहवा मेडिकल कलेजमा चिकित्सकसहित पठाइएको कलेजका वरिष्ठ सर्जर डा. राजकुमार क्षेत्रीले बताए ।
कलेजका प्रवक्ता कृष्ण पराजुलीले शल्यक्रियापछि थप उपचार आवश्यक रहेकोले भैरहवा लैजादै गर्दा उनको मृत्यु भएको बताए। मृतकको शव भैरहवास्थित कलेजमा राखिएको छ।